शुक्रबार, जेष्ठ २२, २०८३

कैलाली-५का स्वतन्त्र उम्मेदबार पाठकको समर्थन मनुलाई गर्दै फिर्ता

धनगढी ९ माघ/कैलाली क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिएका अधिवक्ता जनकराज पाठकले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले औपचारिक रूपमा उम्मेदवारी फिर्ता लिएको पुष्टि गरिएको हो । पाठकले नेपाली काँग्रेसका उम्मेदवार नरनारायण शाहको अनुरोधमा उम्मेदवारी फिर्ता गरेको बताइएको छ ।

जनकराज पाठक कानुन व्यवसायी मात्र होइन, लामो समयदेखि सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय व्यक्तित्वका रूपमा परिचित छन् । उनले स्वतन्त्र उम्मेदवारका रूपमा उम्मेदवारी दर्ता गराउँदा कैलाली क्षेत्र नम्बर ५ को चुनावी प्रतिस्पर्धा थप रोचक बनेको थियो । तर, उम्मेदवारी फिर्ता लिएसँगै उक्त क्षेत्रमा राजनीतिक समीकरण फेरिएको देखिन्छ ।

उम्मेदवारी फिर्तापछि नेपाली काँग्रेसका उम्मेदवार नरनारायण शाहले पाठकप्रति आभार व्यक्त गरेका छन् । कैलाली क्षेत्र नम्बर ५का सभापति भिम पडालका अनुसार पाठकले अब खुला रूपमा नरनारायण शाहलाई समर्थन गर्ने प्रतिबद्धता जनाएका छन् । पडालले जानकारी दिँदै भने, ‘स्वतन्त्र उम्मेदवारको रूपमा उम्मेदवारी दर्ता गर्नु भएका अधिवक्ता जनकराज पाठकले आफ्नो उम्मेदवारी फिर्ता गरेर नेपाली काँग्रेसका उम्मेदवार नरनारायण शाह (मनु) लाई समर्थन जनाउनु भएको छ । उहाँले व्यक्तिगत रूपमा नरनारायण शाह यस क्षेत्रका लागि उपयुक्त उम्मेदवार भएको बताउनु हुँदै चुनाव जिताउन सक्रिय रूपमा लाग्ने प्रतिबद्धता जनाउनु भएको छ ।’