धनगढी – धनगढी उपमहानगरपालिका वडा नं. ४ ले युवायुवतीलाई स्वरोजगारमुखी बनाउने उद्देश्यले सञ्चालन गरेको ड्राइभिङ तालिम कार्यक्रमको आज उद्घाटन गरिएको छ। वडाको चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम अन्तर्गत आयोजना गरिएको उक्त तालिम कार्यक्रमको उद्घाटन वडा अध्यक्ष बुद्धि बहादुर खड्काले गर्नुभएको हो।
उद्घाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष खड्काले युवायुवतीलाई सीपमूलक तालिममार्फत आत्मनिर्भर बनाउने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। उहाँका अनुसार ड्राइभिङ तालिमका लागि १ लाख ५० हजार रुपैयाँ बजेट छुट्याइएको छ भने यस तालिममा वडा नं. ४ भित्रका १४ जना युवायुवती सहभागी हुनेछन्।
वडा अध्यक्ष खड्काले आजको समयमा ड्राइभिङ सीप रोजगारी र स्वरोजगार दुवैका लागि उपयोगी भएको उल्लेख गर्दै तालिमपछि सहभागीहरूले रोजगारीका नयाँ अवसर पाउने विश्वास व्यक्त गर्नुभयो। “सीप बिना रोजगारी सम्भव छैन, त्यसैले युवालाई व्यवहारिक सीप दिने उद्देश्यले यस्तो कार्यक्रम ल्याएका हौं,” उहाँले भन्नुभयो।
वडा कार्यालयका अनुसार आज कार्यक्रमको औपचारिक उद्घाटन सम्पन्न भइसकेको छ भने भोलिदेखि सहभागी युवायुवतीले गयेश्वर ड्राइभिङ सेन्टरमा गई प्रशिक्षण लिनेछन्। यसका लागि वडा कार्यालय र गयेश्वर ड्राइभिङ सेन्टरबीच आवश्यक सम्झौता भइसकेको जनाइएको छ।
तालिम अवधिभर सैद्धान्तिक तथा व्यावहारिक दुवै प्रकारका कक्षा सञ्चालन गरिने र तालिम सफलतापूर्वक सम्पन्न गर्ने सहभागीलाई प्रमाणपत्रसमेत प्रदान गरिने वडा कार्यालयले जनाएको छ। सहभागी छनोट प्रक्रिया मापदण्डका आधारमा पारदर्शी रूपमा गरिएको वडाले स्पष्ट पारेको छ।
वडाले यसअघि पनि विभिन्न सीपमूलक तथा सामाजिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि युवामुखी तथा रोजगारमूलक कार्यक्रमलाई निरन्तरता दिइने वडा अध्यक्ष खड्काले जानकारी दिनुभयो।
स्थानीयवासीहरूले वडाले सञ्चालन गरेको यस प्रकारको कार्यक्रमले युवायुवतीलाई सीप, आत्मविश्वास र रोजगारीका अवसर प्रदान गर्ने भन्दै प्रशंसा गरेका छन्। कार्यक्रमले स्थानीय स्तरमै स्वरोजगार सिर्जना गर्दै आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।