सोमवार, बैशाख ७, २०८३

ट्राफिक सप्ताह २०८२: रक्तदान, स्वास्थ्य तथा आँखा जाँच कार्यक्रम सम्पन्न

“सभ्य नागरिकको चिनारी, सडक दुर्घटना न्यूनीकरण हामी सबैको जिम्मेवारी” भन्ने मूल नाराका साथ सञ्चालन भइरहेको ट्राफिक सप्ताह तथा सडक दुर्घटना न्यूनीकरण विशेष अभियान २०८२ अन्तर्गत नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाको आयोजनामा रक्तदान, स्वास्थ्य परीक्षण तथा आँखा जाँच कार्यक्रम सम्पन्न भएका छन्।


कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ओमबहादुर राना प्रमुख अतिथिका रूपमा उपस्थित थिए। साथै राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक प्रेम शाही, प्रहरी नायव उपरीक्षक डाक्टर पुनम पाठक, डिएसपी टेक जोरा तथा कैलाली ट्राफिक प्रहरी कार्यालयका प्रमुख चक्रबहादुर देउवा लगायतको उपस्थिति रहेको थियो।


कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि ओमबहादुर रानालेसडक दुर्घटना न्यूनीकरण अभियान केवल नियम कार्यान्वयनमा सीमित नभई सवारी चालकको स्वास्थ्य, सचेतना र सामाजिक उत्तरदायित्वसँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएको बताए। उनले यस्ता कार्यक्रमले प्रहरी र नागरिकबीच विश्वास बढाउनुका साथै सुरक्षित सडक निर्माणमा सहयोग पुर्‍याउने उल्लेख गरे।
कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक प्रेम शाहीले सवारी चालकको स्वास्थ्य अवस्था कमजोर हुँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले स्वास्थ्य परीक्षणजस्ता कार्यक्रम दुर्घटना रोकथामका लागि प्रभावकारी हुने बताए।


त्यस्तै प्रहरी उपरीक्षक डाक्टर पुनम पाठकले नियमित स्वास्थ्य परीक्षणको अभावले सवारी चालक मात्र नभई सर्वसाधारणको जीवनसमेत जोखिममा पर्ने बताउँदै स्वास्थ्य सचेतनामा जोड दिए।
कार्यक्रममा सहभागी समाजसेवी रक्तदाता तथा पत्रकार दीपक उपाध्यायले रक्तदान मानव जीवन बचाउने सबैभन्दा सरल र महान कार्य भएको र यसले दाताको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने बताए।

कार्यक्रमअन्तर्गत रक्तदान गर्ने सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो।
स्वास्थ्य परीक्षणमा खटिएका नवजीवन अस्पतालका चिकित्सक लोकराज जोशीले ६० भन्दा बढी सवारी चालकको स्वास्थ्य जाँच गरिएको जानकारी दिँदै
अधिकांश चालकमा उच्च रक्तचाप देखिएको र यसका कारण चालक अचानक बेहोस भई दुर्घटना हुन सक्ने जोखिम रहेको बताए।
त्यस्तै गेटा आँखा अस्पतालका स्वास्थ्यकर्मी सन्तोष शाहले ६० जना सवारी चालकको आँखा जाँच गरिएको जानकारी दिँदै
दुई जना चालकमा कलर भिजन समस्या देखिएको तथा अधिकांश चालकको आँखाको दृष्टि कमजोर पाइएको
बताए। उनले कलर भिजन समस्या भएका चालकलाई तुरुन्त आँखा जाँच गराउन सुझाउँदै ट्राफिक लाइटको रङ नचिनिँदा दुर्घटना हुन सक्ने खतरा औँल्याए।

यस प्रकारका रक्तदान, स्वास्थ्य तथा आँखा जाँच कार्यक्रमले सवारी चालकको स्वास्थ्य अवस्था पहिचान गर्न सहयोग पुर्‍याउनुका साथै सडक दुर्घटनाका सम्भावित जोखिम समयमै न्यूनीकरण गर्न मद्दत पुर्‍याउने देखिन्छ। विशेषगरी उच्च रक्तचाप र आँखासम्बन्धी समस्या दुर्घटनाको मुख्य कारण बन्न सक्ने भएकाले यस्ता कार्यक्रमलाई नियमित, व्यापक र दीर्घकालीन रूपमा सञ्चालन गर्नु आवश्यक देखिन्छ। ट्राफिक सप्ताहअन्तर्गतको यो कार्यक्रमले सडक सुरक्षा, मानवीय संवेदना र सामाजिक उत्तरदायित्वलाई एकै ठाउँमा जोड्न सफल भएको निष्कर्ष निकाल्न सकिन्छ।