सोमवार, बैशाख ७, २०८३

साउथ वेस्टर्न स्टेट कलेजमा भोलिदेखि विज्ञान प्रदर्शनी हुँदै

काठमाडाैंको बसुन्धरास्थित साउथ वेस्टर्न स्टेट कलेजमा भोलि (बिहीबार) सुरु हुने १४औँ साउथ वेस्टर्न विज्ञान प्रदर्शनी तथा व्यवस्थापन करिअर कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ । कलेजले हरेक वर्ष आयोजना गर्ने कार्यक्रम भोलि उद्घाटन हुन लागेको हो ।

दुई दिनसम्म हुने कार्यक्रम बिहान १० बजेदेखि साँझ ४ बजेसम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा कलेज तथा विद्यालयस्तरका विद्यार्थीहरूको सहभागिता रहनेछ । विज्ञान तथा व्यवस्थापन क्षेत्रप्रति विद्यार्थीहरूलाई प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कलेजले जनाएको छ ।

कार्यक्रमका प्रमुख आकर्षणहरूमा अन्तरकलेज विज्ञान प्रदर्शनी तथा प्रतियोगिता, अन्तरविद्यालय विज्ञान प्रदर्शनी, युवा वैज्ञानिकद्वारा नवप्रवर्तनात्मक प्रस्तुति, व्यवस्थापकीय सीपसम्बन्धी परियोजना प्रस्तुति, मेज सोल्भिङ रोबोट प्रतियोगिता तथा सौर्य अवलोकन कार्यक्रम रहेका छन् ।

यसका साथै कार्यक्रममा निःशुल्क स्वास्थ्य सेवा अन्तर्गत मेडिकल चेकअप, आँखा तथा दन्त परीक्षण शिविर, रक्तदान कार्यक्रम,  सांगीतिक प्रस्तुति तथा अवलोकनकर्ताद्वारा मतदान प्रणालीसमेत सञ्चालन गरिनेछ ।

कलेजका प्रमुख डा. राजेन्द्र केसीका अनुसार कार्यक्रमले विद्यार्थीहरूको सिर्जनशीलता, अनुसन्धान क्षमता र व्यवस्थापन सीप विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । कलेजले अभिभावक, शिक्षक, विद्यार्थी तथा सर्वसाधारणलाई कार्यक्रममा सहभागी भई अवलोकन गर्न आग्रह गरेको छ ।