सोमवार, बैशाख ७, २०८३

भारतको ७७ औं गणतन्त्र दिवसको अवसरमा धनगढीमा अपाङ्ग विद्यार्थीलाई कम्बल वितरण

धनगढी– नेपाल–भारत मैत्री संघ जिल्ला शाखा कैलालीले मित्र राष्ट्र भारतको ७७ औं गणतन्त्र दिवसको अवसरमा अपाङ्ग छात्र–छात्राहरुलाई कम्बल वितरण गरेको छ । नेपाल–भारतबीचको ऐतिहासिक मित्रता, सामाजिक सद्भाव र मानवीय सहयोगलाई थप मजबुत बनाउने उद्देश्यसहित संघले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रम आयोजना गरेको हो ।

नेपाल–भारत मैत्री संघ केन्द्रीय कार्यालयको आयोजनामा गोदावरी नगरपालिका वडा नम्बर २ मा अवस्थित सुदूरपश्चिम समाजसेवी आधारभूत विद्यालयमा एक विशेष समारोहबीच कम्बल वितरण गरिएको थियो । कार्यक्रममा अध्ययनरत अपाङ्ग विद्यार्थीहरुलाई जाडो मौसममा राहत पुग्ने उद्देश्यले कम्बल प्रदान गरिएको आयोजकले जनाएको छ ।

समारोह नेपाल–भारत मैत्री संघका अध्यक्ष राजीव गुप्ताको अध्यक्षतामा भएको थियो । कार्यक्रममा संघका केन्द्रीय सदस्यहरू प्रदीप बैद्ध, गीता कुमारी गौतम, शुभाष अग्रवालको उपस्थिति रहेको थियो । साथै अत्तरियास्थित विद्यालयकी प्रिन्सिपल रितु पाण्डे साहु, संघका सदस्य बिमल बंसल, स्थानीय वडा सदस्यहरू, विद्यालयका शिक्षक–शिक्षिकाहरू तथा अभिभावकहरूको पनि उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राजीव गुप्ताले नेपाल र भारतबीचको सम्बन्ध केवल राजनीतिक मात्र नभई सामाजिक, सांस्कृतिक र मानवीय आधारमा समेत गहिरो रहेको बताए । उनले अपाङ्ग विद्यार्थीहरूलाई लक्षित गरी गरिएको यो सहयोगले उनीहरूको आत्मविश्वास बढाउने र समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रमको अन्त्यमा सहभागीहरूले भारतको गणतन्त्र दिवसको शुभकामना आदान–प्रदान गर्दै नेपाल–भारत मित्रता अझ प्रगाढ बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए । सामाजिक सेवामार्फत दुई देशबीचको सम्बन्ध सुदृढ बनाउने नेपाल–भारत मैत्री संघको पहल स्थानीय स्तरमा प्रशंसनीय मानिएको छ ।