सोमवार, बैशाख ७, २०८३

कक्षाको पाठ्यपुस्तकबाट रंगमञ्चसम्मः धनगढीमा ‘एक चिहान’ को ऐतिहासिक नाट्य प्रस्तुति

धनगढी– कक्षा कोठामा पाठ्यपुस्तकभित्र सीमित भएर पढिने कथाले जब रंगमञ्चको उज्यालो पाउँछ, त्यसले केवल रूप मात्र होइन, अर्थ, अनुभूति र प्रभाव नै फेरिदिन्छ । यही अनुभूतिलाई जीवन्त बनाउने उद्देश्यका साथ सुदूरपश्चिम प्रदेशमै पहिलोपटक धनगढीमा चर्चित उपन्यास ‘एक चिहान’ को नाट्य प्रस्तुति हुन लागेको छ । हृदयचन्द्रसिंह प्रधानद्वारा लिखित उक्त कृतिमा आधारित यो नाटक कक्षा बाहिरको सिकाइलाई अनुभवमा रूपान्तरण गर्ने एउटा सशक्त प्रयास हो ।

नेपाली साहित्यका विद्यार्थीले वर्षौंदेखि पाठ्यक्रममा पढ्दै आएको ‘एक चिहान’ अब कागजका अक्षरबाट बाहिर निस्केर रंगमञ्चमा सास फेर्दैछ । उपन्यासमा समेटिएको सामाजिक यथार्थ, वर्गसंघर्ष, मानवीय पीडा र प्रश्नहरू अब संवाद, अभिनय र दृश्य भाषामा प्रस्तुत हुँदैछन् । आयोजकका अनुसार यो नाटक केवल मनोरञ्जन होइन, पाठ्यक्रम बुझ्ने वैकल्पिक र प्रभावकारी माध्यम बन्ने विश्वास गरिएको छ ।

यो महत्वाकांक्षी नाट्य रुपान्तरण बाजुराका १७ वर्षीय सुनिल बुढा ‘कछुवा’ ले गरेका हुन् । कलिलो उमेरमै साहित्यिक यात्रामा सक्रिय सुनिलले यसअघि १५ वर्षको उमेरमै ‘सहर जाने बाटो’ खण्डकाव्य लेखेर समाजसेवामा समेत योगदान पु¥याइसकेका छन् । हाल उनी धनगढीस्थित कैलाली मोडेल माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत छन् । कम उमेरमै गम्भीर साहित्यिक कृतिलाई नाटकमा ढाल्ने उनको प्रयासले नयाँ पुस्ताको सिर्जनात्मक क्षमता र आत्मविश्वासलाई स्पष्ट रूपमा देखाएको छ ।

‘गाउँले प्रोडक्सन’ को आयोजनामा हुन लागेको यो नाट्य प्रस्तुति विशेषगरी विद्यार्थी केन्द्रित छ । नाटकले उपन्यासका पात्र, उनीहरूबीचका द्वन्द्व र मनोविज्ञानलाई दर्शकसामु प्रत्यक्ष उभ्याउनेछ । पाठ्यपुस्तकका पंक्तिमा सीमित कथाभन्दा फरक, यहाँ विद्यार्थीले पात्रहरूको पीडा महसुस गर्ने, उनीहरूका प्रश्नसँग जुध्ने र समाजको यथार्थलाई आफ्नै आँखाले देख्ने अवसर पाउनेछन् । यसले साहित्यलाई ‘पढ्ने विषय’ मात्र नभई ‘अनुभव गर्ने माध्यम’ का रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ ।

विशेषगरी कक्षा १२ का विद्यार्थीका लागि यो नाट्य प्रस्तुति अत्यन्त उपयोगी हुने विश्वास आयोजकको छ । परीक्षा केन्द्रित अध्ययनभन्दा बाहिर निस्केर साहित्यलाई बुझ्ने, विश्लेषण गर्ने र व्याख्या गर्ने सीप विकासमा यसले टेवा पु¥याउनेछ । त्यसैले विद्यालयका प्राचार्य तथा नेपाली विषयका शिक्षकहरूलाई विशेष रूपमा आमन्त्रण गरिएको आयोजकले जनाएको छ ।

काठमाडौं र पोखराबाहिर पहिलोपटक सुदूरपश्चिम प्रदेशमा ‘एक चिहान’ को नाट्य प्रस्तुति हुन लागेको हो । यसले राजधानी केन्द्रित नाट्य संस्कृतिलाई चुनौती दिँदै प्रदेशमै गुणस्तरीय साहित्यिक गतिविधि सम्भव छ भन्ने सन्देश दिएको छ । स्थानीय दर्शकका लागि मात्र होइन, सम्पूर्ण सुदूरपश्चिमको साहित्यिक तथा सांस्कृतिक विकासका लागि यो कार्यक्रम एउटा महत्वपूर्ण कोसेढुंगा मानिएको छ ।

साहित्यप्रतिको रुचि घट्दै गएको भन्ने गुनासोबीच यस किसिमको सृजनात्मक पहलले नयाँ पुस्तालाई किताबसँग फेरि जोड्ने अपेक्षा गरिएको छ । नाटक हेरेपछि विद्यार्थीले उपन्यासलाई नयाँ दृष्टिकोणबाट हेर्ने, प्रश्न उठाउने र आफ्नै निष्कर्ष निकाल्ने सम्भावना बढ्ने विश्वास गरिएको छ । यसले विश्लेषणात्मक सोच, अभिव्यक्ति क्षमता र समालोचनात्मक चेतनालाई बलियो बनाउनेछ ।

नाट्य प्रस्तुति माघ २३, २४ र २५ गते धनगढीको वैभव प्यालेस एण्ड रिसोर्ट, तारानगर मा आयोजना हुँदैछ । साहित्य, शिक्षा र रंगमञ्चको संगम बनेको यो कार्यक्रमले ‘एक चिहान’ लाई मात्र होइन, सुदूरपश्चिमको सांस्कृतिक पहिचानलाई पनि नयाँ उचाइमा पु¥याउने अपेक्षा गरिएको छ ।