धनगढी चौराहामा पत्रकारमाथि दुर्व्यवहार, प्रेस स्वतन्त्रतामाथि गम्भीर प्रश्
धनगढी । समाचार लेखेकै कारण धनगढीको मुख्य चौराहामा पत्रकारमाथि दुर्व्यवहार भएको आरोप लागेको छ।
सनराइज टेलिभिजनका पत्रकार सुदीप थापा मंगलबार साँझ करिब ९:३० बजे कार्य सम्पन्न गरी आफ्नो स्टाफलाई ढोके बजार पुर्याएर फर्किने क्रममा धनगढीको मुख्य चौराहामा पुगेका थिए। सोही समयमा तीनजनाको समूहले बाटो छेकेको र उक्त समूहका सदस्य जितेन्द्र बोगटीले अत्यधिक मादक पदार्थ सेवनको अवस्थामा पत्रकार थापामाथि दुर्व्यवहार गरेको पीडित पक्षको भनाइ छ।
आरोपअनुसार जितेन्द्र बोगटीले आफूलाई धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालका नातेदार (साला) भएको दाबी गर्दै पत्रकार थापालाई लक्षित गरी अपशब्द प्रयोग गरेका थिए। “तँ सनराइज टेलिभिजनको पत्रकार होस्, गोपाल हमालको समाचार लेख्ने?” भन्दै धम्की दिएको र घटनास्थलमै रहेको प्रहरीको गाडी देखाउँदै ‘केही गर्न सक्दैनस्, जे गर्न सक्छस् गर’ भन्ने अभिव्यक्ति दिएको पीडित पत्रकारको भनाइ छ।
घटनास्थलमा नेपाल सरकारको गृह मन्त्रालय अन्तर्गत नेपाल प्रहरीका असईसहितका कर्मचारीहरू प्रत्यक्ष रूपमा उपस्थित हुँदाहुँदै पनि तत्काल कुनै हस्तक्षेप नभएको बताइएको छ। उक्त दुर्व्यवहारपछि पत्रकार थापा आफ्नो गन्तव्यतर्फ लागेका थिए।
लामो समयदेखि सनराइज टेलिभिजनले धनगढी उपमहानगरपालिकाभित्र देखिएका विभिन्न बेथितिविरुद्ध निरन्तर समाचार प्रकाशन तथा प्रशारण गर्दै आएको छ। त्यसकै प्रतिशोधस्वरूप सार्वजनिक स्थानमै पत्रकारमाथि धम्की र दुर्व्यवहार गरिएको हुन सक्ने आशंका गरिएको छ।
समाचार लेखेकै कारण पत्रकारलाई यसरी लखेटिनु, धम्की दिनु र सुरक्षामा खटिएको निकायले मौनता देखाउनु गम्भीर विषय भएको सरोकारवालाहरूले बताएका छन्। यस घटनाले पत्रकारको पेशागत सुरक्षा, प्रेस स्वतन्त्रता र कानूनको कार्यान्वयनमाथि गम्भीर प्रश्न उठाएको छ।
पीडित पत्रकार सुदीप थापाले आफ्नो सुरक्षाको प्रत्याभूति गरिदिन सम्बन्धित निकायसँग माग गरेका छन् भने घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्नुपर्ने माग समेत उठेको छ।