आइतवार, बैशाख ६, २०८३

पार्टीगत रुपमा कांग्रेसबाहेक अरुसँग प्रतिष्पर्धा हुदैन : एमाले उम्मेदवार भट्ट

अत्तरिया– आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा एमालेबाट कैलाली क्षेत्र नं. ४ मा उम्मेदवार रहेका लेखराज भट्टले निर्वाचनमा पार्टीगत रुपमा कांग्रेसबाहेक अन्यसँग आफ्नो प्रतिष्पर्धा नभएको बताएका छन । बिहिबार अत्तरियास्थित निवासमा आयोजित चुनावी प्रतिबद्धता सार्वजनिक कार्यक्रममा बोल्दै उनले पार्टीगत रुपमा कांग्रेस बाहेक अन्य कुनै पनि दलसँग एमालेको प्रतिष्पर्धा नभएको बताएका हुन ।

उनले व्यक्तिगत रुपमा भने कसैसँग पनि आफ्नो प्रतिष्पर्धा नरहने बताए । ‘पार्टीगत रुपमा अहिले सम्म कांग्रेस बाहेक अन्य कुनै दलसँग एमालेको प्रतिष्पर्धा छैन’ उनले भने ‘तर मेरो राजनितिक जिवन, लामो समयको अनुभव छ, त्यसको आधारमा व्यक्तिगत रुपमा भने मेरो प्रतिष्पर्धा कसैसँग हुदैन ।’

उनले नयाँ आएका पार्टीहरु हावाको वेग सरह भएको बताए । उनले सो वेगलाई धेरै स्थान दिए भविष्यमा गलत परिस्थीति आउन सक्ने बताए । ‘पछिल्लो समय जुन खालको वस्तुस्थिति बनेको छ, जुन हावा छ, त्यसलाई धेरै स्थान दिऔँ भने भोलीको दिनमा गलत स्थिति पैदा हुन्छ भन्ने मलाई लागेको छ’ उनले भने ‘अनुभवलाई अलग गर्ने परिपाटी कुनै पनि हालतमा सही हुन सक्दैन, यो हावा, यो भेलले समाजलाई अराजकता तिर लैजान्छ ।’

उनले राजनिति गर्नलाई विश्वविद्यालयको डिग्री मात्रै नभई राजनितिक अनुभव महत्वपुर्ण हुने बताए । उनले विश्वविद्यालयको डिग्रीले धेरै कुरा काम नगर्ने बताउदै स्वअध्ययन र जनताको विश्वविद्यालयमा जान जरुरी हुने र त्यही नै महत्वपुर्ण भएको बताए । उनले अहिलेको संस्कार समाजको निर्माणतिर नभई विर्सजनतिर लैजाने बताए ।