धनगढी । कैलालीमा कार्यरत प्रहरी निरीक्षक बलराम पाण्डेय ‘माघ महिनाका उत्कृष्ट प्रहरी’ घोषित भएका छन्। जिल्ला प्रहरी कार्यालय कैलाली मातहत रहेको वडा प्रहरी कार्यालय धनगढीमा कार्यरत पाण्डेयलाई उत्कृष्ट प्रहरीका रूपमा छनोट गरिएको हो।
नेपाल प्रहरी संगठनले दिएको जिम्मेवारी उच्च व्यवसायिकता, इमान्दारिता र अनुशासनका साथ निर्वाह गर्दै सामाजिक अपराध न्यूनीकरण, शान्ति–सुरक्षा तथा अमनचयन कायम राख्न महत्वपूर्ण योगदान पुर्याएको आधारमा उनलाई सम्मान गरिएको जनाइएको छ।
त्यसैगरी आसन्न प्रतिनिधिसभा निर्वाचनलाई भयमुक्त र व्यवस्थित वातावरणमा सम्पन्न गराउन राजनीतिक गतिविधिको प्रभावकारी निगरानी, सुरक्षा व्यवस्थापन तथा विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्था त्रुटिरहित रूपमा कार्यान्वयन गरेको मूल्यांकनका आधारमा पाण्डेय उत्कृष्ट घोषित भएका हुन्।
अवैध लागूऔषध नियन्त्रण अभियानमा सक्रिय भूमिका निर्वाह गरी संगठनको नीति–निर्देशनको पालना गर्दै समग्र नेपाल प्रहरी को छवि उच्च बनाउन उल्लेखनीय योगदान पुर्याएको ठहरसहित उनलाई उक्त सम्मान प्रदान गरिएको हो।
सम्मान कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कैलाली का कार्यालय प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले पाण्डेयलाई प्रशंसा–पत्र प्रदान गर्दै बधाई तथा शुभकामना व्यक्त गरेका थिए। कार्यक्रममा अन्य प्रहरी अधिकृत तथा कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो।