धनगढी : डोटीमा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आइतबार दिउँसो बोगटान फुड्सिल गाउँपालिका–३ धौलाबस्ती भन्ने ठाउँमा सुपप्र ०३ ००१ च ००१४ नं को जिप दुर्घटनामा परेको हो।
प्रहरीका अनुसार दुर्घटनामा परी बोगटान फुड्सिल गाउँपालिका–३ मेल्टाकी ६६ वर्षीया जुनादेवी साउद र १७ वर्षीया सिता साउद गम्भीर घाइते छन्। उनीहरू दुवै जनाको टाउको, खुट्टा र छातीमा चोट लागेको छ।
यसैगरी जिपका चालक बोगटान फुड्सिल गाउँपालिका–६, पलाडीका २७ वर्षीय तिर्थ बोगटी र वडा नं ३ मेल्टाका १९ वर्षीय शारदा साउद पनि घाइते भएका छन्।
प्रहरीका अनुसार घाइतेहरूलाई उपचारका लागि धनगढीको मायामेट्रो अस्पताल ल्याइएको छ। बोगटानबाट दिपायलतर्फ जाँदै गरेको जिप अर्को गाडीलाई साइड दिने क्रममा ब्याक हुन गई सडकबाट करिब १५० मिटर तल खसेको थियो।