शुक्रबार, बैशाख ४, २०८३

बैतडीमा चुनावी तिक्तता चुलियो : दामोदर भण्डारीमाथि ‘सिङ्गल भिड्न आइजा’ भन्दै गाली गरेको आरोप

बैतडीमा चुनावी तिक्तता चुलियो : दामोदर भण्डारीमाथि ‘सिङ्गल भिड्न आइजा’ भन्दै गाली गरेको आरोप
धनगढी — बैतडीमा चुनावी माहोल तातिँदै जाँदा दामोदर भण्डारी र हरिशप्रसाद भट्ट बीचको विवादले नयाँ मोड लिएको छ। रास्वपाका समानुपातिक उम्मेदवार भट्टले एमालेबाट उम्मेदवार रहेका भण्डारीले आफूलाई अश्लील गाली गर्दै ‘सिङ्गल भिड्न आइजा’ भनेको आरोप लगाएका छन्।
भट्टले सार्वजनिक गरेको भिडियो सन्देशमा शुक्रबार बिहान करिब साढे ११ बजे पाटन–बैतडी सडकखण्डको कठपते क्षेत्रमा उक्त घटना भएको दाबी गरेका छन्। उनका अनुसार, जिल्ला सदरमुकाम बैतडी जाँदै गर्दा फर्किरहेका भण्डारीको टोलीसँग भेट हुँदा आफूले नमस्कार गर्दा भण्डारीले अपशब्द प्रयोग गर्दै दुर्व्यवहार गरेको बताएका छन्।
भट्टले भिडियोमा भनेका छन्, “हामी जिल्ला प्रशासन जाँदै थियौं। त्यही बेला भेट भयो। नमस्कार गर्दा ‘तँ किन प्रशासन जानु पर्यो? तेरो दाँतसात झारी दिन्छु’ भन्दै ‘सिङ्गल–सिङ्गल भिड्न आइजा’ भन्नु भयो।” उनले ‘हात तल गर’ भन्दै थप गालीगलौज गरिएको दाबी गरेका छन्। उक्त घटनाबारे प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई जानकारी गराइसकेको उनले बताएका छन्।
यता एमाले उम्मेदवार भण्डारीले भने आरोप पूर्ण रूपमा निराधार रहेको दाबी गरेका छन्। उनका अनुसार डिलासैनीमा भएको झडपसम्बन्धी विषयमा कानुनी प्रक्रिया अगाडि बढ्ने कुरा आफूले मात्र बताएका थिए, गालीगलौज नगरेको उनको भनाइ छ।
यसअघि बैतडीको डिलासैनीमा एमाले र रास्वपाका कार्यकर्ताबीच झडप भएको थियो। घटनामा एमालेका दुई र रास्वपाका एक कार्यकर्ता घाइते भएका थिए भने प्रहरीले पाँच जना रास्वपा समर्थकलाई नियन्त्रणमा लिएर अभद्र व्यवहारमा मुद्दा चलाएको जनाएको छ। त्यसयता दुवै पक्षबीच तिक्तता बढ्दै गएको अनुमान गरिएको छ।
बैतडीमा २०७०, २०७४ र २०७९ मा लगातार विजय हासिल गरेका भण्डारी पुनः उम्मेदवार छन्। उता रास्वपाबाट हरिमोहन भण्डारी उम्मेदवार रहेका छन्। पाटन नगरपालिका–६ मा एउटै गाउँका र नाताले दाजुभाइ पर्ने यी दुई उम्मेदवारबीचको प्रतिस्पर्धाले स्थानीय राजनीतिमा थप चासो बढाएको छ।
चुनावी प्रतिस्पर्धा उत्कर्षमा पुगेका बेला सार्वजनिक भएका आरोप–प्रत्यारोपले बैतडीको राजनीतिक वातावरण झन् तनावग्रस्त बन्ने संकेत देखिएको छ। प्रशासनले स्थिति सामान्य राख्न निगरानी बढाएको जनाएको छ।