शनिबार, बैशाख ५, २०८३

निर्वाचन आचारसंहिताले खुम्चिएको रानाथारु ‘होरी’

कैलाली — सुदूरपश्चिमको तराईका कैलाली र कञ्चनपुरमा यतिबेला ‘होरी’को बेग्लै रौनक हुन्थ्यो । चोकचोकमा होलीका कार्यक्रम, मेला, महोत्सव आयोजना गरिएका हुन्थे । तर यसपटक सुनसान छ । विशेषगरी यहााका रानाथारु समुदायमा फागु पूर्णिमाभन्दा एक महिनाअघिदेखि नै सुरु हुने ‘होरी’ को रौनक यसपटक भने निर्वाचनका कारण रूपमा खुम्चिएको छ ।

निर्वाचनको ‘मौन अवधि’ र आचारसंहिताको पालना गर्दा रानाथारु बस्ती र धनगढीका मुख्य बजारहरू होरीमा शान्त देखिएका छन् । रानाथारु समुदायमा होली एक दिनको पर्व मात्र होइन । यो ३८ दिनसम्म मनाइने एउटा लामो उत्सव हो । माघ पूर्णिमाको दिनदेखि सुरु हुने यो पर्वमा राति–राति जाग्राम बसेर होरी गाउने र नाच्ने परम्परा छ ।

तर, यसपाली निर्वाचनको सुरक्षा संवेदनशीलता र भीडभाडमा लगाइएको प्रतिबन्धले गर्दा यो ऐतिहासिक परम्परामा शून्यता छाएको छ । धनगढीका स्थानीय शेभीसिंह रानालाई आफ्नो समुदायको सबैभन्दा ठूलो सांस्कृतिक पर्वमा पनि सुनसान हुँदा खल्लो लागेको छ । ‘हाम्रो होरी त एक महिना चल्छ । सुरुमा राति राति मात्रै खेले पनि फागु पूर्णिमाको भोलिपल्टबाट दिउासो पनि धुमधामका साथ खेल्न सुरु हुन्थ्यो,’ रानाले भनछन्, ‘यसपटक निर्वाचनको मौन अवधि सुरु भएकाले न राति खेल्न पाइयो, न दिउँसो नै ।’