सोमवार, बैशाख ७, २०८३

सुदूरपश्चिममा समानुपातिकमा रास्वपा १०, कांग्रेस ४ क्षेत्रमा अगाडी हुँदा एमाले २ क्षेत्रमा सीमित

 सुदूरपश्चिम प्रदेश प्रतिनिधि सभा निर्वाचन अन्तरगत समानुपातिकमा तर्फ नेकपा एमाले कमजोर देखिएको छ । प्रत्यक्षमा ३ क्षेत्रमा जितेको एमाले समानुपातिकमा भने २ क्षेत्रमा मात्रै पहिलो बनेको छ । नेपाली कांग्रेसले पनि प्रत्यक्षमा ३ क्षेत्रमै जितेको भए पनि समानुपातिकमा भने ४ क्षेत्रमा पहिलो बनेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने प्रत्यक्षमा जितेका १० क्षेत्र मै समानुपातिकमा पनि पहिलो बनेको छ ।

एमाले प्रत्यक्षमा अछाम २, बझाङ र दार्चुलामा जित निकालेको थियो । यी मध्ये अछाममा समानुपातिकमा एमालेलाई कांग्रेसले उछिनेको छ । अछाम २ मा एमालेका यज्ञ बहादुर बोगटी ९ हजार ५१८ मत सहित विजयी भएका थिए । यस क्षेत्रमा एमालले समानुपातिकमा भने ८ हजार ९८५ मत मात्रै ल्याएको छ । यहाँ प्रत्यक्षमा दोस्रो बनेको कांग्रेसले समानुपातिकमा ९ हजार ५१२ मत सहित पहिलो बनेको छ ।

नेपाली कांग्रेस प्रत्यक्षमा अछाम १, बाजुरा र डोटीमा पहिलो भएकोमा समानुपातिकमा पनि पहिलो भएको छ । अछाम १ मा कांग्रेसले प्रत्यक्षमा १० हजार ७५९ मत ल्याएकोमा समानुपातिकमा ९ हजार ५२३ मत ल्याएको भए पनि पहिलो बनेको छ । बाजुरामा प्रत्यक्षमा १७ हजार १७३ मत ल्याएको कांग्रेस समानुपातिकमा १६ हजार ७४६ मत ल्याएर विजयी भएको छ । डोटीमा प्रत्यक्षमा १४ हजार ८१७ मत ल्याएको कांग्रेसले समानुपातिकमा १४ हजार ८३६ मत ल्याएको छ । रास्वपा भने प्रत्यक्षमा जितेका सबै १० क्षेत्रमा समानुपातिकमा पनि पहिलो भएको छ ।

रास्वपाले समानुपातिकमा बैतडीमा २३ हजार ७३६, डडेल्धुरामा १९ हजार २६८, कञ्चनपुर १ मा २५ हजार ९२२, कञ्चनपुर २ मा ३३ हजार ३७५, कञ्चनपुर ३ मा २८ हजार ६४८ मत ल्याएको छ । यस्तै कैलाली १ मा २२ हजार २०४, कैलाली २ मा २२ हजार ५५९, कैलाली ३ मा २२ हजार १५८, कैलाली ४ मा २९ हजार ८५६ र कैलाली ५ मा ३२ हजार ९५३ समानुपातिकमा मत ल्याएको छ ।

समग्रमा सुदूरपश्चिम प्रदेशमा पनि रास्वपाले समानुपातिकमा सबैभन्दा बढी मत ल्याएको छ । समानुपातिकको मत गणनामा रास्वपाले ३ लाख १७ हजार ८३६ मत पाएको छ । दोस्रोमा रहेको कांग्रेसले १ लाख ८३ हजार ८४२ मत पाएको छ । यस्तै तेस्रोमा नेकपा एमाले रहेको छ । एमालले १ लाख ४७ हजार ९०९ मत पाएको छ । चौथोमा रहेको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ले ८७ हजार ८८५ मत पाएको छ । यस्तै राप्रपाले ३६ हजार २६३ र नाउपा नेपालले २३ हजार ९९२ मत पाएको छ । सुदूरपश्चिममा श्रम संस्कृति पार्टीले ५ हजार ३०५ मत पाएको छ ।