कैलाली–५ का सांसद आनन्द चन्द भन्छन– ‘राष्ट्रव्यापी विकास र सुशासनमा योगदान दिन्छु’
धनगढी– कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता आनन्द चन्दले आफूले सांसदको जिम्मेवारी सम्हाल्दै सुशासन र समग्र राष्ट्रको विकासमा योगदान दिने अठोट व्यक्त गरेका छन् । निर्वाचनमा विजयी भएपछि बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफ्नो राजनीतिक प्रतिबद्धता केवल कैलाली क्षेत्रसम्म सीमित नरहने, देशको समग्र विकास र जनअपेक्षाअनुसार काम गर्ने बताएका हुन ।
चन्दले आफूलाई विश्वास गरेर मतदान गर्ने मतदाताप्रति आभार व्यक्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीलाई जिताउन भूमिका खेल्ने सबैप्रति धन्यवाद दिएका छन् । उनले विशेषगरी पार्टीका स्थानीय नेता तथा कार्यकर्ताको योगदानको प्रशंसा गरे । उनका अनुसार कमाण्डर महेश चौधरीको नेतृत्वमा पार्टीले कैलाली–५ मा उल्लेखनीय सफलता हासिल गरेको हो ।
‘कमाण्डर महेश चौधरीको नेतृत्वमा हामीले यहाँ विजय हासिल गरेका छौं । यसले मलाई निकै उत्साहित बनाएको छ,’ उनले भने, ‘तर उत्साहसँगै जिम्मेवारी पनि बढेको महसुस गरेको छु ।’
नवनिर्वाचित सांसद चन्दले आफ्नो मुख्य प्राथमिकता सुशासन स्थापना र जनताले अपेक्षा गरेको परिवर्तनलाई व्यवहारमा उतार्ने रहने बताए । उनका अनुसार राजनीतिमा आएको नयाँ पुस्ताले पारदर्शिता, जवाफदेहिता र प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्नुपर्छ ।
‘मैले सुशासनमा योगदान पु¥याउने अठोट लिएको छु । जनताले परिवर्तन चाहेका छन्, त्यसैले त्यो चाहनाअनुसार जिम्मेवार भएर काम गर्ने वाचा गर्छु,’ उनले भने ।
सुदूरपश्चिम प्रदेशको विकासका सन्दर्भमा उनले विशेष योजना बनाइएको पनि बताए । उनका अनुसार सडक सञ्जाल, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रका विस्तृत तथ्यांक संकलन गरिएको छ । ती तथ्यांकलाई राष्ट्रिय तथ्यांकसँग जोडेर न्यायोचित ढंगले बजेट विनियोजन गराउन पहल गर्ने उनको योजना छ ।
‘सुदूरपश्चिममा सडक सञ्जाल, शिक्षा र स्वास्थ्य क्षेत्रमा कति बजेट खर्च भइरहेको छ भन्ने विषयमा हामीले तथ्यांक तयार गरेका छौं,’ उनले भने, ‘अब त्यसलाई राष्ट्रिय तथ्यांकसँग जोडेर न्यायोचित र आवश्यकताअनुसार बजेट विनियोजन गराउने प्रयास गर्नेछौं ।’
स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे । उनका अनुसार सुदूरपश्चिमका नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाउन नसकेको अवस्थालाई सुधार गर्न विशेष पहल गरिनेछ ।
‘सबैभन्दा पहिले चिकित्सा तथा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्नेछु,’ उनले भने, ‘शहीद दशरथचन्द मेडिकल कलेज सञ्चालनमा ल्याउने र सेती प्रादेशिक अस्पतालको स्तरोन्नति गर्ने लक्ष्य छ ।’
उनले यी कामहरू सफलतापूर्वक अघि बढेपछि कृषि क्षेत्रको विकासमा पनि ध्यान केन्द्रित गरिने बताए । सुदूरपश्चिमको अर्थतन्त्रमा कृषि महत्वपूर्ण आधार भएकाले किसानलाई आधुनिक प्रविधि, बजार र आवश्यक पूर्वाधार उपलब्ध गराउन पहल गरिने उनको भनाइ छ ।
सांसद चन्दले सरकार गठन र मन्त्रिपरिषद् विस्तारबारे पनि आफ्नो धारणा राखेका छन् । उनले आफू मन्त्री बन्न योग्य रहेको बताए पनि त्यसबारे कुनै आधिकारिक जानकारी नभएको स्पष्ट पारे । ‘मन्त्री बन्ने योग्यता मसँग पनि छ,’ उनले भने, ‘तर म मन्त्री हुन्छु कि हुँदिन भन्नेबारे अहिले कुनै जानकारी छैन ।’ उनले वर्तमान सरकार पाँच वर्षसम्म स्थिर रूपमा चल्नुपर्ने धारणा व्यक्त गरे । सरकारको स्थायित्वले मात्र विकासका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकिने उनको तर्क छ ।
‘सरकार पाँच वर्षसम्म पूर्ण रूपमा चल्नुपर्छ,’ उनले भने, ‘अढाइ वर्ष–अढाइ वर्ष गरेर प्रधानमन्त्री परिवर्तन गर्ने अभ्यास राम्रो होइन ।’ उनका अनुसार राजनीतिक स्थिरता कायम भए मात्र विकास योजनाले गति लिने र जनताले अपेक्षा गरेको परिवर्तन सम्भव हुनेछ ।
नवनिर्वाचित सांसद चन्दले आफू जनताको विश्वासलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा कैलालीसहित सुदूरपश्चिम र समग्र देशको विकासका लागि सक्रिय रूपमा लाग्ने बताएका छन् । ‘जनताको विश्वास मेरो सबैभन्दा ठूलो शक्ति हो,’ उनले भने, ‘त्यसैको आधारमा राष्ट्र र समाजको हितका लागि काम गर्नेछु ।’