सोमवार, बैशाख ७, २०८३

प्रत्यक्षतर्फ बढ्दो बदर मतः सुदूरपश्चिममा मतदाता शिक्षा अझै चुनौती

प्रत्यक्षतर्फ बढ्दो बदर मतः सुदूरपश्चिममा मतदाता शिक्षा अझै चुनौती
धनगढी– सुदूरपश्चिम प्रदेशमा निर्वाचनका क्रममा प्रत्यक्षतर्फको मतदानमा बदर मतको संख्या समानुपातिकतर्फको भन्दा उल्लेख्य रूपमा बढी देखिएको छ । प्रदेश निर्वाचन कार्यालय, धनगढीले सार्वजनिक गरेको निर्वाचन सारांश अनुसार प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ मतदाता शिक्षा, मतपत्रको जटिलता र मतदान प्रक्रिया बुझाइमा कमीका कारण बदर मतको प्रतिशत बढेको देखिएको हो ।
निर्वाचन कार्यालय उपलब्ध गराएको तथ्यांक अनुसार सुदूरपश्चिम प्रदेशका १६ निर्वाचन क्षेत्रका कुल १७ लाख १६ हजार छ सय ६० मतदातामध्ये आठ लाख ७४ हजार मत खसेको थियो । कुल खसेको मतमध्ये आठ लाख २२ हजार नौ सय ४४ मत सदर भएको छ भने ५१ हजार ५६ मत बदर भएको देखिन्छ । यस अनुसार प्रदेशमा कुल मतदान प्रतिशत ५०.९१ रहेको छ । सदर मतको प्रतिशत ९४.१६ रहेको छ भने बदर मतको प्रतिशत ५.८४ रहेको तथ्यांकले देखाएको छ ।
प्रत्यक्षतर्फको निर्वाचनमा सबैभन्दा बढी मत बदर कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा भएको देखिन्छ । यस निर्वाचन क्षेत्रमा एक लाख तीन हजार ८७ मतदाता रहेकोमा ५८ हजार दुई सय नौ मत खसेको थियो । जसमा ५३ हजार पाँच सय ४६ मत सदर भएकोमा चार हजार छ सय ६३ अर्थात (आठ दशमलब एक प्रतिशत) बदर भएको छ भने सबैभन्दा कम बाजुरामा भएको छ । यहाँ ८७ हजार आठ सय ६१ मतदाता रहेकोमा ४५ हजार दुई सय ४२ मत खसेको थियो । जसमा ४३ हजार आठ सय ९६ मत सदर भएको छ भने एक हजार तीन सय ४६ अर्थात (दुई दशमलब ९८ प्रतिशत) मत बदर भएको छ ।
यस्तै समानुपातिकतर्फ १७ लाख २९हजार चार सय ५० मतदाता रहेकोमा आठ लाख ८४ हजार एक सय ७७ मत खसेको थियो । कुल खसेको मतमध्ये आठ लाख ४२ हजार पाँच सय ५३ मत सदर भएको छ भने ४१ हजार छ सय २४ मत बदर भएको देखिन्छ । यस अनुसार प्रदेशमा कुल मतदान प्रतिशत ५१.१२ रहेको छ । सदर मतको प्रतिशत ९५.२९ रहेको छ भने बदर मतको प्रतिशत ४.७१ रहेको तथ्यांकले देखाएको छ ।
समानुपातिक तर्फको निर्वाचनमा सबैभन्दा बढी मत बदर कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा भएको देखिन्छ । यस निर्वाचन क्षेत्रमा एक लाख नौ हजार एक सय २२ मतदाता रहेकोमा ६० हजार तीन सय २० मत खसेको थियो । जसमा ५७ हजार चार सय सात मत सदर भएकोमा दुई हजार नौ सय १३ अर्थात (पाँच दशमलब ८३ प्रतिशत) मत बदर भएको छ भने सबैभन्दा कम बाजुरामा भएको छ । यहाँ ८९ हजार तीन सय ४३ मतदाता रहेकोमा ४५ हजार छ सय ६९ मत खसेको थियो । जसमा ४४ हजार चार सय ६९ मत सदर भएको छ भने एक हजार दुई सय अर्थात (दुई दशमलब ६३ प्रतिशत) मत बदर भएको छ ।
प्रदेश निर्वाचन कार्यालयका अनुसार समानुपातिकतर्फको मतदानमा मतपत्र सरल र पार्टी चिन्हमा मात्र मत हाल्नुपर्ने भएकाले बदर मत अपेक्षाकृत कम देखिएको छ । तर प्रत्यक्षतर्फ उम्मेदवारहरूको संख्या धेरै हुनु, मतपत्रको आकार ठूलो हुनु तथा मतदान गर्दा मतदाताले गल्ती गर्ने सम्भावना बढी हुने भएकाले बदर मतको संख्या बढेको देखिन्छ । प्रत्यक्षतर्फको मतदानमा मतदाता शिक्षा अझै प्रभावकारी बनाउन नसक्दा यस्तो अवस्था आएको हो । मतपत्रमा एकभन्दा बढी चिन्ह लगाइने, चिन्ह सही ठाउँमा नलगाइने, मतपत्रमा लेख्ने वा अन्य चिन्ह बनाउने जस्ता कारणले मत बदर हुने गरेको निर्वाचन कार्यालयको भनाई छ ।
प्रदेश निर्वाचन कार्यालयका निमित्त कार्र्यालय प्रमुख प्रेमराज भट्टका अनुसार धेरैजसो मतदाता मतदान केन्द्रमा पुग्दा मतपत्र कसरी प्रयोग गर्ने भन्ने विषयमा अझै अलमलमा पर्ने गरेका छन् । ‘समानुपातिकतर्फको मतपत्र सरल हुन्छ, पार्टी चिन्हमा मात्र मतदान गर्नुपर्छ । तर प्रत्यक्षतर्फ उम्मेदवार धेरै हुँदा मतपत्र ठूलो हुन्छ र कतिपय मतदाताले चिन्ह लगाउने क्रममा गल्ती गर्छन्,’ उनले भने ।
ग्रामीण क्षेत्रका मतदातामा मतदान प्रक्रिया सम्बन्धी जानकारी अझै सीमित रहेको पनि देखिएको छ । मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिए पनि ती कार्यक्रम सबै समुदायसम्म प्रभावकारी रूपमा पुग्न नसकेको उनको भनाइ छ । चुनावअघि मतदाता शिक्षा कार्यक्रम व्यापक रूपमा सञ्चालन भए पनि व्यवहारिक रूपमा मतदान गर्ने तरिका धेरै मतदाताले नबुझ्दा बदर मत बढ्ने समस्या देखिएको उनीहरूको निष्कर्ष छ ।
मतपत्र डिजाइन, मतदान प्रक्रिया तथा मतदाता शिक्षा सुधार गरिएमा बदर मतको संख्या घटाउन सकिन्छ । उनले भने ‘मतपत्र स्पष्ट, सरल र व्यवस्थित बनाइएमा मतदाताले सजिलै चिन्ह लगाउन सक्ने वातावरण तयार हुन्छ । साथै मतदान केन्द्रमा खटिने कर्मचारीहरूले पनि मतदातालाई मतदान प्रक्रिया बुझाउन सक्ने वातावरण आवश्यक रहेको छ ।’
सुदूरपश्चिम प्रदेशमा दुर्गम भौगोलिक अवस्था, शिक्षा स्तर तथा सूचना पहुँचको कमीले पनि मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न चुनौती थपिएको देखिन्छ । पहाडी तथा हिमाली जिल्लामा सूचना पहुँच सीमित हुँदा मतदाताले मतदान प्रक्रिया राम्रोसँग नबुझ्ने अवस्था देखिएको छ ।
निर्वाचन लोकतान्त्रिक प्रणालीको आधारभूत प्रक्रिया भएकाले मतदाताको मत सही रूपमा सदर हुनु अत्यन्त महत्वपूर्ण मानिन्छ । बदर मतको संख्या धेरै हुनु भनेको मतदाताको अभिव्यक्ति पूर्ण रूपमा गणना हुन नसक्नु हो । त्यसैले निर्वाचन प्रक्रिया सरल, पारदर्शी र मतदाता–मैत्री बनाउनु आवश्यक रहेको विज्ञहरूको सुझाव छ ।
सुदूरपश्चिम प्रदेशमा देखिएको बदर मतको अवस्था सुधार गर्न मतदाता शिक्षा, मतदान प्रक्रिया सरलीकरण र सूचना पहुँच विस्तार मुख्य उपायका रूपमा देखिएका छन् ।