शनिबार, बैशाख ५, २०८३

बेलौरी, वैशाखी सीमाबाट मध्यरातमा दुई ट्रली अवैध केरा बरामद, भन्सार चलान गरिँदै

बेलौरी, कञ्चनपुर, ०५ चैत्र।

कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १ स्थित वैशाखी क्षेत्रको नेपाल–भारत सीमाबाट अवैध रूपमा भित्र्याइएको दुई ट्रली केरा प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको विशेष टोलीले बिहीबार बिहान करिब ३:३० बजेको समयमा दुईवटा ट्रली जोडिएको अवस्थामा उक्त परिमाणको केरा बरामद गरेको हो।

भारतबाट भन्सार छली गरी लुकिछिपी नेपाली बजारमा ल्याइँदै गरेको विशेष सूचनाका आधारमा प्रहरीले सीमा नाकामा कडा निगरानी बढाएको थियो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हेम बहादुर शाहीले बरामद गरिएको केरा र ढुवानीमा प्रयोग भएका साधनलाई आवश्यक कानुनी प्रक्रिया र राजस्व असुलीका लागि भन्सार कार्यालय चलान गर्ने जानकारी दिनुभयो। उहाँका अनुसार सीमा क्षेत्रमा हुने अवैध ओसारपसार नियन्त्रणका लागि प्रहरीले सक्रियता बढाएको र यस घटनामा संलग्नहरूको थप अनुसन्धान भइरहेको छ।