शनिबार, बैशाख ५, २०८३

धनगढीमा पर्यटकीय आकर्षणको नयाँ गन्तव्य: परिश्रमी ग्रीन फिल्स रिर्सोट सञ्चालनमा

धनगढी  – धनगढी उपमहानगरपालिका वडा नं. ३ को वोराडाडी क्षेत्रमा अब आन्तरिक तथा बाह्य पर्यटकका लागि नयाँ गन्तव्य थपिएको छ। परिश्रमी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, कैलाली को अवधारणामा सञ्चालनमा आएको परिश्रमी ग्रीन फिल्स रिर्सोट प्राकृतिक सौन्दर्य, पारिवारिक वातावरण र ग्रामीण जीवनशैलीको अनुभव दिलाउने उद्देश्यसहित सुरु गरिएको हो।
हरियाली वातावरणबीच फैलिएको रिर्सोटले पारिवारिक घुमघाम, साथीभाइसँगको रमाइलो भेटघाट तथा शान्त वातावरणमा विश्राम लिन खोज्नेहरूका लागि उत्कृष्ट विकल्प प्रस्तुत गरेको छ। यहाँ ठूलो आकर्षणको रूपमा रहेको तालमा डुंगा सयर गर्न सकिने, आफैंले बल्छी प्रयोग गरेर माछा मार्ने अनुभव लिन सकिने तथा ताजा माछाका परिकारको स्वाद चाख्न पाइने व्यवस्था गरिएको छ।
रिर्सोटका सञ्चालक गजेन्द्र सिंहका अनुसार ५२ कट्टा क्षेत्रफलमा फैलिएको यो परियोजनामा हालसम्म करिब ५० लाख रुपैयाँ लगानी भइसकेको छ। “हामीले यहाँ आउने पाहुनालाई केवल घुमफिर होइन, नयाँ अनुभव दिन चाहेका छौं,” उनले भने, “आजकालका बच्चाहरूले माछा मार्ने सीप समेत बिर्सिसकेका छन्, त्यसलाई सिकाउने उद्देश्य पनि हाम्रो हो।”


आरामदायी कटेज, लोकल कुखुराको स्वाद, अर्गानिक खानपान र प्राकृतिक परिवेशले यो रिर्सोटलाई अझ विशेष बनाएको छ। सहकारीमार्फत सञ्चालन गरिएकाले यसले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै समुदायको आर्थिक सशक्तिकरणमा समेत टेवा पुर्‍याइरहेको छ।
संस्थाका अध्यक्ष अक्कल बहादुर सिंहले सहकारीको मुख्य लक्ष्य पर्यटनसँगै रोजगारी सिर्जना गर्नु रहेको बताए। “हामीले माछापालन र कुखुरापालनसँगै रिर्सोट सञ्चालन गरेर बहुआयामिक काम गरिरहेका छौं,” उनले भने, “यसले स्थानीय स्तरमा रोजगारी बढाउने र आर्थिक गतिविधि चलायमान बनाउने विश्वास गरेका छौं।”

प्राकृतिक सुन्दरतासँगै नयाँ अनुभव, स्वादिलो अर्गानिक परिकार र पारिवारिक वातावरणको समिश्रण बोकेको परिश्रमी ग्रीन फिल्स रिर्सोट धनगढीको पर्यटन क्षेत्रमै एउटा सम्भावनायुक्त गन्तव्यका रूपमा उदाएको छ। यदि तपाईं शान्त, रमणीय र फरक अनुभव खोज्दै हुनुहुन्छ भने—यो रिर्सोट तपाईंको अर्को गन्तव्य बन्न सक्छ