शनिबार, बैशाख ५, २०८३

हल्ला फैलिँदा उद्योग वाणिज्य संघ एक्सनमा, केशव राज जोशीको अनुगमन

धनगढी : कैलालीमा ग्यास अभाव भएको हल्ला तीव्र रूपमा फैलिरहेका बेला कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष केशव राज जोशीको नेतृत्वमा बजार अनुगमन गरिएको छ। अनुगमन टोलीमा संघका सचिव प्रकाश चन्द समेत सहभागी थिए।

अनुगमनका क्रममा ग्यास डिलर्स एसोसिएसन कैलालीका अध्यक्ष छवि राज भट्टले ग्यास अभाव भएको भन्ने हल्ला पूर्ण रूपमा गलत रहेको स्पष्ट पारे। उनले अब धनगढीमा कसैले ग्यास नपाउने अवस्था नरहेको बताउँदै बजारमा पर्याप्त ग्यास उपलब्ध रहेको दाबी गरे।

भट्टका अनुसार पछिल्लो समय सरकारले लागू गरेको नीतिअनुसार ग्यास सिलिन्डर आधा भरिने व्यवस्था गरिएको हो। यसले सबै उपभोक्तालाई ग्यास पुग्ने र अनावश्यक भण्डारण (स्टक) रोक्ने उद्देश्य राखिएको उनले बताए। हाल एक सिलिन्डर ग्यासको मूल्य ९५५ रुपैयाँ कायम रहेको पनि जानकारी दिए।

वरिष्ठ उपाध्यक्ष जोशीले ग्यास अभावको हल्ला फैलिएकै कारण आफूहरू अनुगमनमा निस्किएको बताए। उनले मध्यपूर्वको युद्धका कारण केही प्रभाव परेको भए पनि बजारमा हल्ला भएजस्तो अभाव नभएको स्पष्ट पारे।

“अहिले बजारमा ग्यास अभाव छैन, हामी निरन्तर अनुगमनमा छौं,” उनले भने, “सरकारले तोकेको मूल्य र तौलको कडाइका साथ जाँच भइरहेको छ।”

उनले सप्लायर्सलाई नयाँ सिलिन्डर वितरण नगर्न आग्रह गरिएको पनि बताए। जिल्ला प्रशासन कार्यालय र स्थानीय तहले समेत संयुक्त रूपमा बजार अनुगमन गरिरहेको उल्लेख गर्दै जोशीले यदि कुनै किसिमको कालोबजारी वा बदमासी गरेको पाइए कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिए।