धनगढी । राष्ट्रिय अटिजम केयर सेन्टर सोसाइटी नेपालको आयोजना, धनगढी उपमहानगरपालिकाको सहकार्य तथा अपाङ्गता अधिकार कोषको सहयोगमा सञ्चालित परियोजना व्यवस्थापन तथा वित्तीय जिम्मेवारी सम्बन्धी ३ दिने कर्मचारी प्रशिक्षण कार्यक्रम शनिवार सम्पन्न भएको छ।
तीन दिनसम्म चलेको उक्त तालिममा सहभागीहरूलाई परियोजना सञ्चालनपछि वित्तीय व्यवस्थापन कसरी गर्ने, प्रभावकारी कार्यान्वयनका लागि आवश्यक प्रक्रिया र व्यवस्थापनका आधारभूत पक्षबारे विस्तृत जानकारी प्रदान गरिएको थियो।
कार्यक्रममा सहभागी बौद्धिक अपाङ्ग अभिभावक संघकी निर्मला विष्टले यस्तो अवसर प्रदान गरेकोमा आयोजकप्रति धन्यवाद व्यक्त गरिन्। उनले संस्थाहरूले बजेटको उचित प्रयोगमा चुनौती झेलिरहेको उल्लेख गर्दै तालिमले व्यवहारिक ज्ञान दिएको बताइन्। आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूको आवश्यकता रहेको उनले जोड दिइन्।
त्यस्तै, सहभागी रामचन्द्र रानाले तालिमबाट परियोजना व्यवस्थापनका विभिन्न टुल्स र तरिकाबारे जानकारी पाएको बताए। “पहिलो पटक यस्तो तालिम लिएको हुँ, धेरै कुरा सिक्ने अवसर मिल्यो,” उनले भने।
कार्यक्रमका प्रमुख अतिथि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रमुख सचिव शंकर शाहाले सेवा गर्नु नै सच्चा धर्म भएको उल्लेख गर्दै समाजसेवामा समर्पित व्यक्तिहरूलाई ‘महान आत्मा’को संज्ञा दिए। उनले ज्ञान र सीपको विकासमार्फत सेवा कार्य अझ प्रभावकारी बनाउन सकिने भन्दै सहभागीहरूलाई निरन्तर सिकाइमा लागिरहन सुझाव दिए।
कार्यक्रमका अध्यक्ष तथा राष्ट्रिय अटिजम केयर सेन्टर सोसाइटी नेपालका अध्यक्ष रमेश बस्नेतले सहभागी सबैलाई धन्यवाद दिँदै आगामी दिनमा विभिन्न तहसँग सहकार्य गर्दै संस्थाको उद्देश्यअनुसार काम अघि बढाइने बताए। साथै, सुदूरपश्चिम प्रदेशमा जलवायु परिवर्तन र अपाङ्गता विषयमा सम्मेलन आयोजना गर्ने तयारी भइरहेको जानकारी दिए।
यस तालिमले सहभागीहरूलाई परियोजना व्यवस्थापन र वित्तीय अनुशासनमा व्यवहारिक ज्ञान प्रदान गर्दै संस्थागत क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको विश्वास गरिएको छ।