शनिबार, बैशाख ५, २०८३

सुदूरपश्चिम प्रहरीको फागुन : ३०५ मुद्दामा २२१ जना पक्राउ, ८३ लाखको अवैध सामान बरामद

धनगढी । सुदूरपश्चिम प्रदेशमा एक महिनामा विभिन्न घटनासँग सम्बन्धित मुद्दामा प्रहरीले २२१ जनालाई पक्राउ गरेको छ । चालु आर्थिक वर्ष २०८२-०८३ को फागुनमा प्रदेशभर दर्ता भएका तीन सय ५ विभिन्न अपराधका घटनामा दुई सय २१ जना आरोपितलाई पक्राउ गरिएको हो ।
तर, ६९ जना अझै फरार रहेका छन्।

प्रहरीले सार्वजनिक गरेको प्रगति विवरणअनुसार ज्यानसम्बन्धी ५८, आत्महत्या ५२, चोरी १३, संगठित तथा आर्थिक अपराध ६१, सामाजिक अपराध ५३, महिला तथा बालबालिकासम्बन्धी २२, सवारी ज्यान १५ र अन्य ३१ वटा घटना सम्बन्धी मुद्दा दर्ता भएका छन्।

फागुन महिनामा जघन्य तथा गम्भीर प्रकृतिका ६२ अपराधका मुद्दा दर्ता भएका छन्। साथै फैसला कार्यान्वयनतर्फ ६२ जना पक्राउ परेका छन् भने ३९ वर्ष ७ महिना ७ दिन कैद सजाय कार्यान्वयन गरिएको छ। जरिवाना वापत ५ लाख ५२ हजार रुपैयाँ असुल गरिएको प्रहरीले जनाएको छ।

लागुऔषध नियन्त्रणतर्फ ५३ मुद्दा दर्ता भई ८६ जना पक्राउ परेका छन्। सो क्रममा २ किलोभन्दा बढी चरेस, करिब १०० ग्राम खैरो हिरोइन र विभिन्न ट्याब्लेट बरामद गरिएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित २५ उजुरी दर्ता भएका छन् भने घरेलु हिंसाका ७३ उजुरीमध्ये ५९ वटा मिलापत्र भएका छन्।

त्यस्तै, फागुनमा १११ सवारी दुर्घटना हुँदा १६ जनाको मृत्यु र १६९ जना घाइते भएका छन्। ट्राफिक कारबाहीबाट २० लाख ८ हजार रुपैयाँ जरिवाना संकलन गरिएको छ। राजस्व चुहावट तथा भन्सार छलि नियन्त्रणतर्फ ८३ लाखभन्दा बढी मूल्यका सामान बरामद गरिएको छ। विपद् व्यवस्थापनअन्तर्गत विभिन्न घटनामा २५ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ।

प्रदेश प्रहरी कार्यालयको कमान्ड डीआईजी ओमबहादुर रानाले सम्हालिरहेका छन् भने एसएसपी पदमबहादुर विष्ट प्रवक्ताको भूमिकामा छन् । प्रहरीले फागुन महिनामा जनचेतनामूलक कार्यक्रम, फरार अभियुक्त खोजी, निगरानी वृद्धि, समुदाय-प्रहरी साझेदारी कार्यक्रमलगायत गतिविधि तीव्र बनाएको जनाएको छ।