इन्धन मूल्यवृद्धिले निर्माण क्षेत्र प्रभावित, निर्माण व्यवसायी संघ कैलालीद्वारा सरकारलाई पुनर्विचारको आग्रह
धनगढी:
निर्माण व्यवसायी संघ कैलालीले इन्धन लगायत निर्माणजन्य सामग्रीमा भएको चर्को मूल्यवृद्धिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संघले एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल सरकारद्वारा हालै गरिएको इन्धन मूल्यवृद्धिले निर्माण क्षेत्र मात्र नभई समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्ने जनाएको हो।
संघका अनुसार निर्माण क्षेत्र प्रत्यक्ष रूपमा इन्धनमा निर्भर हुने भएकाले मूल्यवृद्धिले निर्माण लागत अत्यधिक बढाएको छ। यसका कारण चालु आयोजनाहरू प्रभावित हुनुका साथै नयाँ योजनाहरू कार्यान्वयन गर्न समेत कठिनाइ उत्पन्न भएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा भनिएको छ कि मूल्यवृद्धिको प्रभावले विकास निर्माणको गति सुस्त बनाउने र समग्र आर्थिक गतिविधिमा समेत असर पार्ने देखिन्छ।
संघले सरकारसमक्ष इन्धन मूल्यवृद्धिको निर्णय पुनर्विचार गरी यथाशीघ्र समायोजन गर्न, निर्माण क्षेत्रलाई लक्षित गरी विशेष राहत तथा सहुलियत प्याकेज उपलब्ध गराउन तथा दीर्घकालीन रूपमा इन्धन मूल्य स्थिरीकरणका लागि प्रभावकारी नीति अवलम्बन गर्न माग गरेको छ।
निर्माण व्यवसायी संघ कैलालीका महासचिव बिक्रम बिष्टद्वारा जारी विज्ञप्तिमा मागप्रति सम्बन्धित निकायबाट यथोचित पहल नभएमा चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी समेत दिइएको छ।
संघले देशको समग्र विकास र आर्थिक स्थायित्वका लागि सरकारसँग सहकार्य गर्न आफूहरू सधैं तयार रहेको जनाउँदै यस गम्भीर विषयमा तुरुन्त ध्यान दिन आग्रह गरेको छ । 