धनगढी उपमहानगरपालिका वडा नम्बर १२, जुगेडा (डि गाउँ) मा एउटा सानो तर मन लोभ्याउने घर अहिले ज्येष्ठ नागरिकहरूको भेटघाट र खुसी साटासाट गर्ने केन्द्र बनेको छ। वरिपरि फुलेका रङ्गीचङ्गी फूलहरूले सजिएको यो घरभित्र उमेर पुगेका हजुरबुबा–हजुरआमाहरू चियाको चुस्की लिँदै रमाइरहेका देखिन्छन्।
कसैले पत्रिका पढ्दै समाजका गतिविधि बुझिरहेका छन् भने कसैले आफ्ना अनुभव र कथा सुनाउँदै समय बिताइरहेका छन्। आयुर्वेदिक चियाको स्वादसँगै यहाँको वातावरणले उनीहरूलाई मानसिक रूपमा सन्तुष्टि दिएको देखिन्छ।
यस निःशुल्क चिया घर तथा पुस्तकालयका संस्थापक हुन् समाजसेवी पृथ्वी शाह। जुगेडाकै निवासी शाहले आफ्नै कमाइको केही अंश समाजका ज्येष्ठ नागरिकहरूको सेवामा लगाउने उद्देश्यले यो पहल गरेका हुन्।
उनका अनुसार, “ज्येष्ठ नागरिकहरू समाजका गहना, प्रेरणाका स्रोत र जीवित इतिहास हुन्, त्यसैले उनीहरूका लागि यस्तो थलो आवश्यक थियो।”
स्थानिय अजव सिंह डगौरा थारु भन्छन् पहिले यो सरकारी पहल हो भन्ने लागेको तर पछि थाहा भयो व्यक्तिगत प्रयास रहेछ। सरकारले पनि यस्तो काममा साथ दिनुपर्ने उनको भनाइ छ।
स्थानिय चन्द्रबहादुर विक भन्छन् अन्य काममा हिँड्दा भेटिएको यो चिया घरले उनलाई प्रभावित बनाएको छ। उनले यहाँ पार्क समेत निर्माण गर्नुपर्ने सुझाव दिएका छन्।
स्थानिय कमला देवी राना भन्छन् ज्येष्ठ नागरिकका लागि यस्तो सुविधा भएकोमा खुशी व्यक्त गर्दै उनले यसको खुलेर प्रशंसा गरिन्।
स्थानिय (युवा) रवि तामाङ भन्छन् यो नयाँ सोच भएको कार्य भएको भन्दै उनले यसले समाजलाई सकारात्मक दिशामा लैजाने बताए। साथै, ज्येष्ठ नागरिकहरूलाई एक ठाउँमा जोड्ने थलो बनेकोमा उनले धन्यवाद व्यक्त गरे।
निःशुल्क चिया घर तथा पुस्तकालयका सञ्चालक पृथ्वी शाह भन्छन् “यो घर मैले मायाले बनाएको हुँ। ज्येष्ठ नागरिकहरू एक्लोपनबाट मुक्त होऊन्, आफ्ना कुरा साटासाट गर्न सकून् भन्ने उद्देश्यले निर्माण गरेको हुँ।”
उनले आगामी दिनमा धनगढीका सबै १९ वडामा यस्तो सेवा विस्तार गर्ने लक्ष्य समेत लिएका छन्।
साथै, उनले ज्येष्ठ नागरिकका लागि पार्क निर्माण गर्न स्थानीय सरकारसँग माग पनि गरेका छन्, जहाँ उनीहरूले हिँडडुल, योगा तथा अन्य गतिविधि गर्न सकून्।
जुगेडामा स्थापना भएको यो निःशुल्क चिया घर तथा पुस्तकालय केवल एउटा भवन मात्र होइन, यो ज्येष्ठ नागरिकहरूको सम्मान, माया र सामाजिक उत्तरदायित्वको ज्वलन्त उदाहरण हो।
पृथ्वी शाहको यो पहलले समाजमा सकारात्मक सन्देश दिएको छ—यदि चाहना र सोच सकारात्मक भए, व्यक्तिगत स्तरबाट पनि ठूलो परिवर्तन सम्भव हुन्छ।
अब आवश्यक छ, यस्ता उदाहरणीय कार्यमा स्थानीय सरकार र सम्बन्धित निकायले साथ दिई यसलाई अझ व्यापक र दिगो बनाउनु।
