धनगढीमा ट्राफिक प्रहरीलाई बेसिक लाइफ सपोर्ट सम्बन्धी तालिम
धनगढी, कैलाली — ट्राफिक प्रहरी कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले बेसिक लाइफ सपोर्ट (Basic Life Support) सम्बन्धी तालिम सञ्चालन गरिएको छ।
आज मिति २०८२ साल चैत १७ गते यस कार्यालय तथा मातहत समेतमा कार्यरत जम्मा १३२ जना ट्राफिक प्रहरी कर्मचारीहरुलाई उक्त तालिम प्रदान गरिएको हो।
सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल धनगढी, कैलालीका प्राविधिक प्रहरी नायव उपरीक्षक डा. पुनम पाठक तथा विभिन्न जिल्लाका स्वास्थ्य संस्थाका चिकित्सक प्रतिनिधिहरुद्वारा तालिम प्रदान गरिएको जनाइएको छ।
तालिमका क्रममा आकस्मिक अवस्थामा बिरामीलाई प्राथमिक उपचार गर्ने विधि, श्वासप्रश्वास रोकिएको अवस्थामा गरिने उद्धार प्रक्रिया लगायतका विषयमा प्रयोगात्मक अभ्यास समेत गराइएको थियो।
यस तालिमबाट ट्राफिक प्रहरी कर्मचारीहरु आकस्मिक परिस्थितिमा नागरिकको जीवन बचाउन थप सक्षम हुने अपेक्षा गरिएको छ।