धनगढी – धनगढीस्थित मालपोत तथा नापी कार्यालय अगाडिको सडकमा जथाभावी सवारी पार्किङ नगर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले सर्वसाधारणलाई आग्रह गरेको छ।
ट्राफिक प्रहरीले सो क्षेत्रमा स्पष्ट सूचना पार्टी (नो पार्किङ बोर्ड) राख्दै सडकमा सवारी साधन पार्किङ नगर्न अनुरोध गरेको हो। कार, मोटरसाइकल लगायतका सवारी साधन अव्यवस्थित रूपमा सडकमा पार्किङ गर्दा दुर्घटनाको जोखिम बढ्ने र सवारी आवागमन समेत अस्तव्यस्त हुने भएकाले यस्तो निर्णय गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका अनुसार उक्त क्षेत्रमा ‘नो पार्किङ’ नियम उल्लङ्घन गरी सवारी राख्ने चालकलाई व्हील लक लगाई कानुन बमोजिम कारबाही तथा जरिवाना गरिनेछ।
ट्राफिक प्रहरीले सबै सवारी चालकलाई तोकिएको स्थानमै पार्किङ गर्न र ट्राफिक नियमको पालना गर्न आग्रह गरेको छ। 