शुक्रबार, बैशाख ४, २०८३

“हाम्रो धनगढी हामी बनाउँछौं” अभियान अन्तर्गत वडा नं. १२ मा बृहत सरसफाइ कार्यक्रम सम्पन्न

धनगढी  – धनगढी उपमहानगरपालिका वडा नं. १२ मा “हाम्रो धनगढी सफा धनगढी, हाम्रो धनगढी हामी बनाउँछौं” भन्ने मूल नाराका साथ बृहत सरसफाइ अभियान सम्पन्न गरिएको छ। उक्त कार्यक्रम द दरबार स्कुल धनगढी वडा नं. १५, ज्येष्ठ नागरिक निःशुल्क चिया घर धनगढी तथा वडा नं. १२ को सरसफाइ सप्ताह अन्तर्गत संयुक्त रूपमा आयोजना गरिएको हो।                                                                                 

कार्यक्रममा बोल्दै द दरबार स्कुलका सञ्चालक तथा ज्येष्ठ नागरिक निःशुल्क चिया घर अभियानका अभियान्ता पृथ्वी शाहले धनगढीलाई सफा र व्यवस्थित बनाउन सबैको साझा प्रयास आवश्यक रहेको बताए। उनले विद्यालयका विद्यार्थीहरूको सक्रिय सहभागितामा वडा नं. १२ का विभिन्न धार्मिक स्थल, मठमन्दिर तथा गुम्बाहरूमा सरसफाइ तथा अवलोकन कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए। साथै विद्यालयस्तरमै सरसफाइ समिति गठन गरी दीर्घकालीन रूपमा कार्यक्रमलाई निरन्तरता दिइने उनले बताए।                         

त्यस्तै, द दरबार स्कुल कक्षा ७ मा अध्ययनरत छात्र तथा विद्यालय सरसफाइ समिति अध्यक्ष रतन विकले धनगढीलाई स्वच्छ राख्न प्रत्येक व्यक्तिले आफ्नो घर वरपरबाटै सरसफाइ सुरु गर्नुपर्ने बताए। उनले “हाम्रो पहिलो डस्टबिन हाम्रो आफ्नै आँगन हो” भन्ने सन्देश दिँदै फोहोर व्यवस्थापनमा सचेतना आवश्यक रहेको उल्लेख गरे।

विद्यालयका शिक्षक बसन्त राज जोशीले सरसफाइलाई पहिलो प्राथमिकता दिँदै सार्वजनिक स्थलहरूमा गरिएको सरसफाइ कार्यक्रमले समुदायमा सकारात्मक सन्देश फैलाउने विश्वास व्यक्त गरे। उनका अनुसार कार्यक्रमको मुख्य उद्देश्य समुदायमा सरसफाइ सम्बन्धी ज्ञान र जागरण फैलाउनु हो।

ज्येष्ठ नागरिक निःशुल्क चिया घरका अध्यक्ष रामचन्द्र भट्टले एकदिने सरसफाइ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको बताउँदै सहयोग गर्ने अभियान्ता पृथ्वी शाहप्रति आभार व्यक्त गरे। उनले संस्थाले विभिन्न सामाजिक कार्यहरू गर्दै आएको जानकारी दिँदै निकट भविष्यमा सूचना प्रविधिसँग सम्बन्धित रोजगारीमूलक कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको पनि बताए।                                                                           

धनगढीमा आयोजित यस बृहत सरसफाइ अभियानले स्थानीय समुदाय, विद्यार्थी र विभिन्न संस्थाहरूबीच सहकार्यको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ। सरसफाइप्रति जनचेतना अभिवृद्धि गर्दै आफ्नै घर–आँगनबाट सुरु हुने सफाइ संस्कृतिले मात्र स्वच्छ र सुन्दर धनगढी निर्माण सम्भव हुने सन्देश कार्यक्रमले दिएको छ।