बुधबार, बैशाख ९, २०८३

बाजुराको बुढीगंगा चार महिनादेखि हाकिम विहिन

बाजुरा – बाजुराको बुढीगंगा नगरपालिका करिब चार महिनादेखि प्रमुख प्रशासकीय अधिकृत (हाकिम) विहीन बनेको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा दैनिक प्रशासनिक कामकाज र आर्थिक कारोबार प्रभावित बनेको छ । नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको अभावमा दैनिक सेवा प्रवाहसँगै प्रशासनिक काम ठप्प भएको छ ।

नगर प्रमुख रामबहादुर बानियाँले करिब चार महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा समस्या भएको बताए । उनले भने, ‘कात्तिकबाट करार कर्मचारीको पनि म्याद नथप्ने निर्णय ग¥यौँ, त्यसलगत्तै धेरै कर्मचारी अख्तियारको निलम्बनमा परे र त्यसमाथि अधिकृत नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको छ ।’

प्रमुख प्रशासकीय अधिकृत नहुँदा योजना स्वीकृति, बजेट निकासा, कर्मचारीको तलबभत्ता, सिफारिसलगायतका अत्यावश्यक सेवा प्रवाहमा ढिलाइ भइरहेको उनले जनाए । चालु आर्थिक वर्ष सकिन तीन महिना मात्रै बाँकी रहँदा प्रमुख प्रशासकीय अधिकृत र कर्मचारी अभावका कारण कामकाज प्रभावित भएको स्थानीयले बताएका छन् । कर्मचारीहरूका अनुसार महत्त्वपूर्ण फाइल निर्णयको प्रतीक्षामा थन्किएका छन् भने विकास निर्माणसम्बन्धी कामसमेत ठप्प भएका छन् ।

शैक्षिक सत्र सुरु भइसक्दा पनि सामुदायिक विद्यालयले पाठ्यपुस्तक खरिद गर्न सकेका छैनन् । पाठ्यपुस्तक खरिदबापतको रकम नगरपालिकाले भुक्तानी नदिँदा समस्या भएको विद्यालयले जनाएका छन् । ‘बिक्रेतालाई उधारोमा पाठ्यपुस्तक दिन भनेका छौँ, नगरपालिकाले रकम निकासा गर्न नसक्दा पाठ्यपुस्तक खरिद अन्योल भएको छ,’ दुधिर आधारभूत विद्यालयकी प्रअ चन्द्रकला शाहले बताइन् ।

२०८२ पुसमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत अम्मरराज जोशीको सरुवा गरेर सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव भोजबहादुर ऐडीलाई खटाएको थियो । तर ऐडी भने चैतमा एक साता पनि नगरपालिकामा नबसेर फिर्ता भएका थिए । त्यसपछि उनी नफर्किएको नगरपालिकाले जनाएको छ ।

फेरि चैत तेस्रो साता मन्त्रालयले पुनः बुढीगंगाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा भोजबहादुर ऐडीलाई खटाए पनि हालसम्म हाजिर नभएको नगर प्रमुख बानियाँले जानकारी दिए । चार महिनादेखि अधिकृत नहुँदा कर्मचारीहरूले तलब पाएका छैनन् भने योजना सम्झौतालगायत प्रशासनिक काम प्रभावित भएको उनले बताए । नगर प्रमुख बानियाँले दुर्गम भनेर धेरै कर्मचारी आउनै नमान्ने र आए पनि टिकाइराख्न चुनौती रहेको बताए ।

त्यस्तै, चार महिनादेखि अधिकृतविहीन नगरपालिकामा धेरैजसो शाखाका कर्मचारी निलम्बनमा हुँदा झन् समस्या भएको स्थानीयले बताएका छन् । नगरपालिकाको प्रशासनिक भवन निर्माणको ठेक्कामा भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन नगर प्रमुखसहित कर्मचारीहरूविरुद्ध मुद्दा दर्ता गरेपछि पालिकामा कार्यरत ७ जना कर्मचारी निलम्बनमा परेका थिए ।

यस्तै, महिनौँसम्म नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत र कर्मचारी अभावले पालिका र वडामा सेवा प्रवाह प्रभावित भएको छ भने केही स्वास्थ्य संस्थासमेत बन्द भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृतका लागि हारगुहार गरे पनि अहिलेसम्म व्यवस्थापन नभएको बताएको छ ।