बुधबार, बैशाख ३०, २०८३

ढाका टोपी र ढाका खाँदासहित पलियामा एसएसबीको १९औँ स्थापना दिवसमा नेपाली टोलीद्वारा सम्मान

भारत–नेपाल सीमा सुरक्षामा खटिएको ३९औँ वाहिनी सशस्त्र सीमा बल (एसएसबी) गद्दानियाँ, पलिया कलाँ खीरीले आफ्नो १९औँ स्थापना दिवस भव्य रूपमा मनाएको छ। वाहिनी मुख्यालयमा आयोजित कार्यक्रममा भारतका विभिन्न राज्यका सांस्कृतिक झाँकी, लोकनृत्य तथा आकर्षक प्रस्तुतिहरू प्रदर्शन गरिएको थियो।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवा नेतृत्वको नेपाली टोलीले एसएसबीका कमाण्डेन्ट रबीन्द्र कुमार राजेश्वरी लाई नेपाली पहिचान झल्किने ढाका टोपी तथा ढाकाको खाँदा लगाएर सम्मान गरेको थियो। अध्यक्ष देउवाले स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै सीमा सुरक्षामा एसएसबीले पुर्‍याउँदै आएको योगदान प्रशंसनीय रहेको बताए।
कार्यक्रममा उद्योगपति शुभ ठाकुर, व्यवसायी दिल्ली भट्ट, एसपी कलेजका प्रिन्सिपल रविन्द्र परियार तथा सनराइज टेलिभिजनका समाचार सम्पादक सुदीप थापा लगायतको उपस्थिति रहेको थियो।
त्यसैगरी पलिया क्षेत्रका समाजसेवी तथा भाजपा नेता रवि गुप्ता ले सीमा सुरक्षामा ३९औँ वाहिनीले पुर्‍याएको योगदानको प्रशंसा गर्दै कमाण्डेन्टलाई सम्मान गरेका थिए। उनले विषम परिस्थितिमा पनि एसएसबीका जवानहरूले सीमा सुरक्षा गर्दै आएको भन्दै त्यसलाई गौरवको विषय भएको बताए।
स्थापना दिवसको अवसरमा आयोजित सांस्कृतिक कार्यक्रममा जवानहरूले विभिन्न राज्यका लोकनृत्य तथा सांस्कृतिक प्रस्तुति दिएका थिए, जसले दर्शकहरूको मन जितेको थियो।
कमाण्डेन्ट रबीन्द्र कुमार राजेश्वरी ले सुरक्षा निकाय र सञ्चारमाध्यमबीचको समन्वय राष्ट्रहितका लागि आवश्यक रहेको उल्लेख गर्दै सम्पूर्ण जवानहरूलाई स्थापना दिवसको शुभकामना दिएका थिए। साथै उनले सीमा सुरक्षा र नागरिक कल्याणप्रति एसएसबी प्रतिबद्ध रहेको बताए।
कार्यक्रममा एसएसबीका अधिकारी, जवान, पत्रकार तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।