बुधबार, बैशाख ३०, २०८३

सुदूरपश्चिम प्रदेश स्तरीय डिप्लोमा तथा निर्णायक पुनर्ताजगी तालिम

धनगढी– कैलाली जिल्ला उसु संघ, धनगढीको आयोजनामा ‘सुदूरपश्चिम प्रदेश स्तरीय डिप्लोमा तथा निर्णायक पुनर्ताजगी तालिम २०८३’ भएको छ । दुई दिनसम्म सञ्चालन गरिएको उक्त तालिम २०८३ वैशाख २६ र २७ गते धनगढीमा आयोजना गरिएको हो । तालिममा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट प्रशिक्षक, खेलाडी तथा निर्णायकहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।

उसु खेलको प्राविधिक विकास, प्रशिक्षक तथा निर्णायकहरूको क्षमता अभिवृद्धि र प्रदेशस्तरमा खेलकुद गतिविधिलाई थप व्यवस्थित बनाउने उद्देश्यसहित तालिम सञ्चालन गरिएको थियो । तालिमका माध्यमबाट उसु खेलसँग सम्बन्धित नवीन नियम, निर्णायक प्रणाली, खेल सञ्चालन विधि तथा खेलाडी प्रशिक्षणसम्बन्धी विषयमा सहभागीहरूलाई व्यावहारिक तथा सैद्धान्तिक ज्ञान प्रदान गरिएको आयोजक संस्थाले जानकारी दिएको छ ।

तालिमको उद्घाटन सत्र कैलाली जिल्ला उसु संघका अध्यक्ष राजिव गुप्ताको अध्यक्षतामा भएको थियो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा निसर्ग हस्पिटल प्रा.लि. धनगढीका अध्यक्ष तीर्थराज पन्तको उपस्थिति रहेको थियो । त्यसैगरी किसान ट्रेडिङ (होन्डा किसान) का मथ्कुर अहमद, समाजसेवी तथा सुदूरपश्चिम प्रदेश टेबल टेनिस संघका अध्यक्ष रमेश पाण्डे लगायत खेलकुद तथा सामाजिक क्षेत्रसँग आबद्ध विभिन्न व्यक्तित्वहरूको समेत सहभागिता रहेको थियो ।

उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरूले उसु खेलको विकासका लागि यस्ता तालिम अत्यन्त आवश्यक रहेको बताएका थिए । उनीहरूले खेलकुद क्षेत्रलाई अनुशासित, मर्यादित तथा प्रतिस्पर्धात्मक बनाउन दक्ष प्रशिक्षक र अनुभवी निर्णायकको भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गरे । साथै खेलकुदले युवाहरूलाई सकारात्मक सोच, अनुशासन, नेतृत्व क्षमता तथा सामाजिक उत्तरदायित्वतर्फ प्रेरित गर्ने भएकाले राज्यले खेल क्षेत्रमा थप लगानी गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो ।

कार्यक्रममा सहभागीहरूले प्रदेशस्तरमा नियमित रूपमा यस्ता तालिम सञ्चालन हुन सके खेलाडी तथा प्रशिक्षकहरूको दक्षता वृद्धि हुनुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत सुदूरपश्चिम प्रदेशको सहभागिता प्रभावकारी बन्ने विश्वास व्यक्त गरेका थिए । तालिमले खेल क्षेत्रका जनशक्तिलाई अद्यावधिक ज्ञान तथा सीप प्रदान गर्ने भएकाले यसको दीर्घकालीन प्रभाव सकारात्मक रहने अपेक्षा गरिएको छ ।

तालिमको समापन सत्र २०८३ वैशाख २७ गते भएको थियो । समापन कार्यक्रम पनि संस्थाका अध्यक्ष राजिव गुप्ताकै अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथिका रूपमा सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयकी राज्यमन्त्री सरस्वती खड्का सहभागी भएकी थिइन् । कार्यक्रममा नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवा लगायत विभिन्न क्षेत्रका प्रतिनिधि तथा खेलप्रेमीहरूको उपस्थिति रहेको थियो ।

समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि खड्काले खेल क्षेत्रको समग्र विकासका लागि प्रदेश सरकार सकारात्मक र प्रतिबद्ध रहेको बताइन् । उनले प्रशिक्षित प्रशिक्षक तथा निर्णायक उत्पादनले प्रदेशको खेलकुद गतिविधिलाई थप उचाइमा पु¥याउने विश्वास व्यक्त गर्दै युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताइन् । साथै उनले खेलकुदलाई स्वास्थ्य, अनुशासन र राष्ट्रको पहिचानसँग जोडिएको महत्वपूर्ण क्षेत्रका रूपमा विकास गर्न आवश्यक रहेको धारणा राखिन् ।

कार्यक्रममा सहभागी प्रशिक्षक तथा निर्णायकहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । आयोजकका अनुसार तालिममा सहभागीहरूले प्राप्त ज्ञान र अनुभवलाई आगामी प्रतियोगिता तथा प्रशिक्षण कार्यक्रममा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रदेशभर उसु खेलको प्रवद्र्धन, दक्ष निर्णायक उत्पादन तथा खेलकुद संस्कृतिको विकासमा यस तालिमले महत्वपूर्ण योगदान पुग्ने विश्वास आयोजकले लिएको छ ।