निर्माण व्यवसाय संघ कैलालीको प्रथम उपाध्यक्षमा विक्रम बिष्ट निर्विरोध निर्वाचित
कैलाली — निर्माण व्यवसाय संघ कैलालीको २९ औँ साधारण सभा तथा १२औँ अधिवेशनबाट युवा तथा सक्रिय निर्माण व्यवसायी विक्रम बिष्ट प्रथम उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएको छ। उहाँको निर्विरोध चयनसँगै निर्माण व्यवसायी क्षेत्रमा खुसीको लहर छाएको छ।
लामो समयदेखि निर्माण व्यवसाय क्षेत्रमा सक्रिय रहँदै आएका बिष्ट साना तथा मध्यम निर्माण व्यवसायीहरूको हकहित, अधिकार र समस्याका विषयमा निरन्तर आवाज उठाउँदै आएका व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ। व्यवसायीहरूका समस्या समाधान, व्यवसायमैत्री वातावरण निर्माण तथा निर्माण क्षेत्रलाई व्यवस्थित बनाउन उहाँले खेलेको भूमिका उल्लेखनीय रहेको व्यवसायीहरूले बताएका छन्।
विशेषगरी साना व्यवसायीहरूलाई राज्यका नीति तथा प्रक्रियामा सहज पहुँच दिलाउन, व्यवसायीमाथि हुने विभेदको अन्त्य गर्न तथा निर्माण व्यवसायलाई मर्यादित र पारदर्शी बनाउन उहाँले निरन्तर संघर्ष गर्दै आउनुभएको छ। उहाँको सक्रियता र व्यवसायीप्रतिको समर्पणकै कारण अधिवेशनमा सर्वसम्मत रूपमा प्रथम उपाध्यक्षमा निर्वाचित गरिएको बताइएको छ।
निर्वाचनपछि प्रतिक्रिया दिँदै बिष्टले सम्पूर्ण निर्माण व्यवसायीहरूको विश्वास र साथलाई सम्मान गर्दै आगामी दिनमा अझ जिम्मेवार ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले निर्माण व्यवसायीहरूको हकहित संरक्षण, व्यवसायी एकता तथा निर्माण क्षेत्रको विकासका लागि आफू सधैँ अग्रसर रहने बताउनुभयो।
निर्माण व्यवसाय संघ कैलालीको नयाँ नेतृत्वले जिल्लाको निर्माण क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र व्यवसायीमैत्री बनाउने अपेक्षा गरिएको छ। 