बिहिबार, बैशाख ३१, २०८३

मानव सेवामा प्रहरीको प्रेरणादायी कदम : २२ प्रहरीद्वारा आश्रममा भोजन सेवा

मानव सेवामा प्रहरीको प्रेरणादायी कदम : २२ प्रहरीद्वारा आश्रममा भोजन सेवा
धनगढी, कैलाली — वि.सं. २०७२ सालमा नेपाल प्रहरी सेवामा भर्ना भई हाल ११ वर्ष सेवा पूरा गरी १२औँ वर्षमा प्रवेश गरेको अवसरमा जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत २२ जना प्रहरी कर्मचारीहरूले मानव सेवा आश्रम, धनगढीमा आश्रित ५६ जना असहाय तथा बेसहारा व्यक्तिहरूलाई एकछाक भोजन गराएका छन् ।
सामाजिक उत्तरदायित्व तथा मानवीय सेवाको भावनालाई आत्मसात गर्दै आयोजित उक्त कार्यक्रम हरिश प्रसाद पन्तको नेतृत्वमा सम्पन्न भएको हो । कार्यक्रममा दिलिप चन्द, महेश चन्द, राजेश पन्त तथा कमल साह लगायत प्रहरी कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो ।
मानव सेवा आश्रममा आश्रित व्यक्तिहरूलाई भोजन गराउँदै प्रहरी कर्मचारीहरूले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हरिश प्रसाद पन्तले बताउनुभयो । उहाँका अनुसार प्रहरी केवल सुरक्षा दिने निकाय मात्र नभई समाजप्रति उत्तरदायी र मानवीय संवेदनशीलता बोकेको संस्था पनि हो भन्ने सन्देश दिन कार्यक्रम गरिएको हो ।
प्रहरी सहायक हवल्दार दिलिप चन्दले सेवा, सहयोग र मानवताको भावनालाई निरन्तर अघि बढाउने उद्देश्यले यस्ता कार्यक्रम गरिएको जानकारी दिँदै आगामी दिनमा पनि सामाजिक तथा मानवीय गतिविधिलाई निरन्तरता दिइने बताउनुभयो ।
उक्त कार्यप्रति स्थानीयवासी तथा आश्रम परिवारले प्रहरी कर्मचारीहरूको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरेका छन् ।