बुधबार, बैशाख ३०, २०८३

तस्करीलाई छुट दिने प्रहरीमाथि कारबाही हुने आईजीपीको चेतावनी

काठमाडौं : नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीले तस्करी नियन्त्रण र लागूऔषधविरुद्ध कडा रूपमा प्रस्तुत हुन प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्।

आईजीपी कार्कीले घरायसी प्रयोजनका लागि ल्याइने सानो परिमाणको सामान समातेर ठूलो तस्करीमा संलग्नलाई उन्मुक्ति दिने प्रवृत्ति स्वीकार्य नहुने चेतावनी दिएका हुन्।

“घरमा प्रयोगका लागि ल्याइने एक किलो काउली समात्ने प्रहरीले काउलीका काउली छोड्ला। त्यस्तो गर्ने प्रहरीको टिकट काटिन्छ, कारबाही हुन्छ,” कार्कीले भने, “त्यसैले कारबाहीको भागेदार हुने काम नगर्नु। तस्करी नियन्त्रणमा जिम्मेवार भएर काम गर्नु।”

उनले तस्करी नियन्त्रणका लागि प्रहरी मात्र नभई समुदाय पनि जागरुक हुनुपर्ने बताए। लागूऔषध समाजको गम्भीर समस्याका रूपमा रहेको उल्लेख गर्दै उनले यसको ओसारपसार र कारोबारमा संलग्नविरुद्ध निर्मम रूपमा प्रस्तुत हुन निर्देशन दिए।

“लागूऔषधले धेरैको घरपरिवार बिचल्ली पारेको छ। ऊर्जाशील युवाहरू यसैको कुलतमा फसिरहेका छन्,” उनले भने, “यसलाई नियन्त्रण गर्नुको विकल्प छैन।”

महानिरीक्षक कार्कीले प्रहरी कार्यालयमा सेवा लिन आउने नागरिकलाई दुःख दिने प्रवृत्ति अन्त्य गर्दै छिटोछरितो र प्रभावकारी सेवा प्रवाहमा ध्यान दिन प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्।

न्याय प्रक्रियामा बिचौलिया र अनावश्यक व्यक्तिको हस्तक्षेप हुन नदिन आग्रह गर्दै उनले पीडितलाई न्याय दिलाउन प्रहरी कर्मचारी आफैं जिम्मेवार भएर लाग्नुपर्ने बताए। साथै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको सुरक्षा र अधिकार संरक्षणलाई प्राथमिकतामा राखेर नेपाल प्रहरीले काम गरिरहेको उल्लेख गरे।