कञ्चनपुरः कञ्चनपुरमा घरभित्रै हत्या गरिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ।
जिल्लाको दोधारा चाँदनी नगरपालिका–५, रकुनी टोलका ४५ वर्षीय लीलाराम सुनारको हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ। सोमबार बिहान घरभित्र धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा सुनारको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए।
सुनारकी श्रीमतीले सोमबार बिहान करिब ७ बजे घटनाबारे जानकारी गराएपछि प्रहरी घटनास्थल पुगेको उनले बताए। प्रारम्भिक अनुसन्धानका क्रममा सुनारको धारिलो हतियार प्रहार गरी हत्या गरिएको आशङ्का गरिएको प्रहरीले जनाएको छ। सुनारको घाँटी तथा शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार भएको पाइएको छ । प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शव परीक्षणका लागि अस्पताल पठाउने प्रक्रिया अघि बढाएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।