हाम्रो क्यामेरा, हाम्रो कथाः कैलारीका छात्राले फोटोमार्फत सुनाए संघर्ष र सम्भावनाका कथा
धनगढी– कैलालीको कैलारी गाउँपालिकास्थित श्री दिपेन्द्र माध्यमिक विद्यालयकी एक छात्रा ‘क’ (नाम परिवर्तन) वर्षायाम सुरु हुनासाथ एउटा स्थायी चिन्तामा बाँच्न बाध्य हुन्छिन् । विद्यालय जान मोहना नदीमाथि बनाइएको काठेपुल तर्नुपर्छ । नदीमा पानीको बहाव बढेपछि त्यो पुल जोखिमपूर्ण बन्छ, कहिलेकाहीँ बग्ने डरले विद्यालय नै जान नसक्ने अवस्था आउँछ । उनले यही यथार्थलाई एउटा तस्बिरमा कैद गरिन् । काठेपुलमाथि विद्यालय पोसाकमा हिँडिरहेका विद्यार्थीहरूको त्यो तस्बिर केवल एउटा दृश्य थिएन, त्यो ग्रामीण छात्राहरूले दैनिक भोगिरहेको संघर्षको सशक्त अभिव्यक्ति थियो ।
उक्त तस्बिर जेठ १ गते विद्यालयमा आयोजित ‘हाम्रो आँखाबाट हाम्रो संसारः हाम्रो क्यामेरा हाम्रो कथा’ शीर्षकको फोटो प्रदर्शनीमा प्रस्तुत गरिएको थियो ।
प्रदर्शनीमा सहभागी छात्राहरूले आफ्नो जीवन, गाउँ, विद्यालय, र वातावरणसँग जोडिएका अनुभवहरू क्यामेरामार्फत प्रस्तुत गरेका थिए ।
मोहना नदीको कटान र बाढीले वर्षेनी प्रभावित हुने कैलारी गाउँपालिकाका विद्यार्थीहरूको जीवनमा जलवायुजन्य समस्याले प्रत्यक्ष असर पारिरहेको छ । विशेषगरी छात्राहरूको पढाइ, दैनिक दिनचर्या, र सुरक्षामा यसको प्रभाव देखिन्छ । यही यथार्थलाई केन्द्रमा राखेर विद्यालयमा फोटोभ्वाइस गतिविधिपछि प्रदर्शनी आयोजना गरिएको हो । कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो ।
प्रदर्शनीमा राखिएका अधिकांश फोटोहरू मोहना नदीसँग सम्बन्धित थिए । कतै नदी कटानले बगाएको बाटो देखिन्थ्यो, कतै अस्थायी पुलबाट जोखिमपूर्ण यात्रा गरिरहेका विद्यार्थीहरू । वर्षायाममा गाउँ मुख्य भूभागबाट टाढिने अवस्था, विद्यालय पुग्नुपर्ने कठिनाइ, र यातायात अभावका कारण पढाइ प्रभावित हुने विषयहरू फोटोमा स्पष्ट देखिन्थे । 
तर प्रदर्शनी केवल समस्याको चित्रणमा सीमित थिएन । केही तस्बिरहरूले छात्राहरूको मेहनत, आत्मविश्वास र सम्भावनालाई पनि उजागर गरेका थिए । धेरै छात्राहरूले साइकललाई आफ्नो शिक्षाको आधार र स्वतन्त्रताको प्रतीकका रूपमा प्रस्तुत गरेका थिए । विद्यालय जान लामो दूरी पार गर्नुपर्ने अवस्थामा साइकलले उनीहरूलाई समय बचत र आत्मनिर्भरता दिएको उनीहरूको बुझाइ थियो ।
त्यस्तै मोबाइल फोन, इन्टरनेट, किताब, नोट, तथा टेलिभिजन जस्ता सामग्रीले पढाइमा निरन्तरता दिन सहयोग गरेको कुरा पनि फोटोमार्फत देखाइएको थियो । कतिपय छात्राहरूले घरको कामसँगै अध्ययनलाई कसरी सन्तुलन गरिरहेका छन् भन्ने अनुभव पनि फोटोमा उतारेका थिए ।
घरायसी जिम्मेवारी छात्राहरूका लागि अर्को ठूलो चुनौती बनेको देखिन्छ । खाना पकाउने, भाइबहिनी हेरचाह गर्ने, खेतीपातीमा सहयोग गर्ने जस्ता काम उनीहरूको दैनिक जीवनको हिस्सा हुन् । कतिपय छात्राहरूले बिहान घरको काम सकेपछि मात्रै विद्यालय जान पाउने अवस्था रहेको बताएका थिए ।
यो प्रदर्शनी हाल कैलारी गाउँपालिकामा भइरहेको एक अनुसन्धानसँग पनि जोडिएको छ । न्युजिल्यान्डस्थित विक्टोरिया यूनिवर्सिटी अफ वेलिङ्गटनमा विद्यावारिधि गरिरहेका शोधकर्ता प्रशान्त बिष्टले थारु समुदायका किशोरीहरूको शैक्षिक अनुभवमाथि अध्ययन गरिरहेका छन् ।
उनको अनुसन्धान विशेषगरी जलवायु परिवर्तन, जीविकोपार्जन, घरायसी जिम्मेवारी तथा त्यसले छात्राहरूको विद्यालय जीवनमा पार्ने असरमा केन्द्रित रहेको बताइएको छ । अध्ययनले सुदूरपश्चिम क्षेत्रमा बसोबास गर्ने किशोरीहरूले शिक्षा हासिल गर्न सामना गरिरहेका चुनौती र उनीहरूको प्रयासलाई उजागर गर्ने लक्ष्य राखेको छ ।
शोधकर्ता बिष्टका अनुसार नेपालको सुदूरपश्चिम क्षेत्र अन्य क्षेत्रको तुलनामा अनुसन्धान र विकासका बहसमा कम प्राथमिकतामा पर्ने गरेको छ । अधिकांश अध्ययन र नीतिगत बहस काठमाडौं केन्द्रित हुँदा स्थानीय अनुभवहरू ओझेलमा पर्ने गरेको उनको भनाइ छ । आफू यही क्षेत्रको भएकाले यहाँका वास्तविक कथा बाहिर ल्याउने उद्देश्यले अनुसन्धान गरिरहेको उनले बताए ।
कार्यक्रममा सहभागी शिक्षक तथा अभिभावकहरूले छात्राहरूले आफ्नै दृष्टिकोणबाट गाउँ र विद्यालय जीवनलाई प्रस्तुत गर्नु महत्वपूर्ण भएको प्रतिक्रिया दिएका थिए । उनीहरूका अनुसार फोटोहरूले समुदायभित्र लुकेका समस्याहरू मात्र होइन, समाधान खोज्नुपर्ने आवश्यकता पनि देखाएका छन् ।
फोटो प्रदर्शनीले विद्यार्थी, शिक्षक, अभिभावक र समुदायबीच संवादको एउटा साझा मञ्च सिर्जना गरेको देखिन्थ्यो । क्यामेराको माध्यमबाट व्यक्त गरिएका ती कथाहरूले ग्रामीण छात्राहरूको संघर्ष, सपना, र सम्भावनालाई उजागर गर्दै शिक्षा, वातावरण र सामाजिक उत्तरदायित्वबारे नयाँ बहस सुरु गर्ने संकेत गरेका छन् । 