धनगढी, ५ जेठ/नेपाल-भारत सीमामा कपडा तस्करी गर्दै गरेकी एक नेपाली महिला पक्राउ परेकी छन्। विशेष चेकजाँच अभियानका क्रममा प्रहरीले उनलाई ठूलो परिमाणमा लेडिज सूट, साडी र फ्रक सहित नियन्त्रणमा लिएको हो। बरामद कपडाको मूल्य करिब ९५ हजार भारतीय रुपैयाँ रहेको बताइएको छ।
प्रहरीका अनुसार पलिया-गौरीफन्टा सडकखण्ड नजिक जंगलको बाटो हुँदै जाँदै गरेकी महिलालाई शंकाको आधारमा जाँच गरिएको थियो।पक्राउ परेकी महिला कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियाकी बिष्ना भट्ट रहेको खुलेको छ। उनको साथबाट ५ बोरा कपडा बरामद गरिएको प्रहरीले जनाएको छ,जसमा १५९ थान लेडिज सूट, ११ थान साडी र १२ थान फ्रक रहेका छन्।
ती सामान बिना कुनै वैध कागजात नेपाल लैजान खोजिएको भन्दै प्रहरीले सामान नियन्त्रणमा लिएर थप कारबाहीका लागि भन्सार कार्यालय पठाएको जनाएको छ।