काठमाडौँ । नेकपा एमालेका नेता युवराज ज्ञवालीले बाँचुन्जेल कुर्सी नछाड्ने प्रवृत्ति कम्युनिस्ट आन्दोलनका लागि बाधक भएको बताएका छन् । सोमबार काठमाडौँमा पूर्वप्रधानमन्त्री झलनाथ खनालद्वारा लिखित ‘वैज्ञानिक समाजवाद कि बहुदलीय जनावाद’ पुस्तक विमोचन कार्यक्रममा ज्ञवालीले आफूमात्र ठिक भन्ने प्रवृत्तिले कतै नपुगिने स्पष्ट पारे ।
‘बाचुन्जेल कुर्सी नछोड्ने कम्युनिस्ट आन्दोलनमा देखियो । आजीवन बसिरहने कुर्सी नछोड्ने । म मात्रै ठिक हुँ भन्ने तर एक्लै परिसक्यो थाहा छैन । जनता, कार्यकर्ता सबैले छोडिसके । एक्लै म मात्र ठिक छु भनेका छन्, कुर्सी छोडेका छैनन् । यो गाइजात्रा मैले हेर्दै आइराखेको छु । यस्तो गाइजात्राले यो मार्क्सवाद हुँदैन । क्रान्ति हुँदैन । समाजवाद पनि आउँदैन, केही पनि आउँदैन’, उनले भने । कार्यक्रममा ज्ञवालीले नेपाल जस्तो सानो मुलुकमा कम्युनिस्टहरू मिल्नु पर्नेमा जोड दिए । स–साना विवादमा पनि विभाजित हुने रोगले समाजवादमा नपुगिने उनको तर्क छ ।‘हाम्रो जस्तो सानो मुलुकमा कम्युनिस्टहरू एकजुट हुनुपर्छ । एक ठाउँमै बस्न नसक्ने, यसरी समाजवाद आउँछ ? थोरै विवाद हुँदा पनि दलालको बिल्ला भिराइहाल्ने प्रवृत्ति छ’, उनले भने, ‘यसरी बहस चलाइयो भने हामी घोर मार्क्सवाद विरोधी हुन्छौँ। पुरानाले क्रमशः बिदा लिनुपर्छ र नयाँ आउनुपर्छ भन्ने कुरा वैज्ञानिक कुरा हो।’