डोटी: डोटीको बोगटान फुड्सिल गाउँपालिका–३ स्थित पल्चौर सामुदायिक स्वास्थ्य केन्द्र करिब एक वर्षदेखि स्वास्थ्यकर्मी विहीन हुँदा स्थानीयवासी आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित भएका छन्।सामान्य ज्वरोको औषधिसमेत लिन स्थानीयले करिब तीन घण्टा पैदल हिँडेर कानाचौर स्वास्थ्य चौकी पुग्नुपर्ने बाध्यता रहेको छ। स्थानीयका अनुसार स्वास्थ्य केन्द्रमा कर्मचारी नहुँदा बिरामी, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा बालबालिका सबैभन्दा बढी समस्यामा परेका छन्। यस विषयमा वडा अध्यक्ष, गाउँपालिका अध्यक्ष तथा सम्बन्धित निकायलाई पटक–पटक जानकारी गराए पनि हालसम्म कुनै ठोस पहल नभएको उनीहरूको गुनासो छ।
स्थानीय नरेन्द्र क्षेत्रीले स्वास्थ्य केन्द्रमा तत्काल स्वास्थ्यकर्मी खटाई नियमित सेवा सञ्चालन गर्न माग गर्दै स्वास्थ्यजस्तो अत्यावश्यक सेवामा देखिएको समस्या अब थप लम्बिन नहुने बताए। पल्चौर डोटीको विकट क्षेत्रका साथै अछाम जिल्लाको सीमामा पर्ने गाउँ हो। बसाइँसराइसँगै गाउँको जनसंख्या घट्दै गएको भए पनि स्वास्थ्य, सडक, सञ्चार, विद्युत र खानेपानीजस्ता आधारभूत सेवाको अभाव अझै कायम रहेको स्थानीय बताउँछन्।
पानीका मुहान सुक्दै जाँदा टाढाबाट ल्याइएको पाइपलाइनबाट समेत नियमित पानी नआउँदा स्थानीय थप समस्यामा परेका छन्। वडा नम्बर ३ का अध्यक्ष कृष्ण बमले विगत छ महिनादेखि गाउँपालिकासँग स्वास्थ्यकर्मी व्यवस्थापनका लागि निरन्तर पहल गरिरहेको भए पनि पालिकाले आवश्यक चासो नदिएको बताए। उनले विकट क्षेत्रमा स्वास्थ्यकर्मी टिकाउन कठिनाइ भए पनि समस्या समाधानका लागि पहल जारी रहेको र छिट्टै कर्मचारी खटाइने विश्वास व्यक्त गरे।यता, कानाचौर स्वास्थ्य चौकीका इन्चार्ज हस्त बुढाका अनुसार एक जना स्वास्थ्यकर्मीले जागिर छाडेका र अर्का एक जनालाई अन्यत्र सरुवा गरिएकाले पल्चौर सामुदायिक स्वास्थ्य केन्द्रको सेवा बन्द हुन पुगेको हो। उनका अनुसार पालिकाले नयाँ दरबन्दी सिर्जना नगरेकाले हालसम्म स्वास्थ्य केन्द्रमा नयाँ स्वास्थ्यकर्मी खटिन सकेका छैनन्। स्थानीयले स्वास्थ्य केन्द्रमा तत्काल स्वास्थ्यकर्मी खटाई नियमित सेवा सञ्चालन गर्न तथा विकट क्षेत्रका नागरिकको आधारभूत स्वास्थ्य अधिकार सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।