मङ्लबार, असार १६, २०८३

दही–चिउरा खाएको तस्बिरले देउवा दम्पतीलाई किन पर्‍यो महँगो?

काठमाडौँ । आज असार १५ अर्थात् दही चिउरा खाने दिन । संस्कृतिविदका अनुसार परापूर्वकालमा समयमै रोपाइँ सकिएको खुसीयालीमा दही चिउरा खाने प्रचलन सुरु भएको मानिन्छ । तर, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पतीका लागि दही चिउरा खाने खुशीयालीले निकै कालान्तरमा महँगो साबित हुन पुग्यो।

२०८० साल फागुन २१ गते तत्कालीन नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस गठबन्धन भत्किएको थियो । प्रधानमन्त्री तथा तत्कालीन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादीसँग गठबन्धन गरी सरकार बनाएका थिए । तर समकालीन राजनीतिका चतुर खेलाडी पूर्वप्रधानमन्त्री ओली जसरी पनि गठबन्धन भत्काएर आफ्नै नेतृत्वमा सरकार बनाउने दाउमा थिए । त्यतिबेला प्रचण्ड सरकारका गृहमन्त्री थिए, रास्वपाका सभापति रवि लामिछाने ।लामिछानेले प्रचण्डकै सहमतिमा देउवा पत्नी डा.आरजु राणा लगायत प्रभावशाली नेताहरू पक्राउ गरी अनुसन्धान गर्न लागेको सूचना चुहिएपछि २०८१ साल असार १५ गते दही चिउरा खाने बहानामा आरजु र देउवा ओली निवास बालकोट पुगेका थिए । ओली निवासमै बसेर देउवा र ओलीले प्रचण्ड सरकार ढालेर कांग्रेस–एमालेको गठबन्धन सरकार बनाउने सैद्धान्तिक सहमति गरेका थिए । तर सत्ता समीकरण फेरबदल गर्ने योजना ओली, देउवा र राणाबिच मात्र सीमित राखिएको थियो । पूर्वयोजना अनुसार ओली र देउवा दम्पती असार १७ गते क्याप्टेन रामेश्वरा थापाको घरमा बसेर ७ बुँदे सहमति गरेका थिए । सहमति अनुसार दुई वर्ष ओलीले, बाँकी डेढ वर्ष देउवाले आलोपालो सरकारको नेतृत्व गर्ने भनिएको थियो । मध्यरातमा भएको सहमति दुवै पक्षले पार्टीका शीर्ष नेताहरूलाई पनि जानकारी दिएका थिएनन् ।त्यतिबेला समीकरण फेरबदल हुन लागेको चर्चाबिच प्रचण्डले ओलीलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर स्पष्टता खोजेका थिए । तर ओलीले सहमति भएको भोलिपल्टसम्म पनि देउवासँग सत्ता समीकरणको विषयमा कुनै सहमति नभएको ढाँटेका थिए । अन्ततः देउवा–ओलीबिच भएको त्यही सात बुँदे सहमतिको आधारमा असार ३० गते प्रचण्ड सरकार विस्थापित भयो । कांग्रेसको समर्थनमा ओली प्रधानमन्त्री बने । देउवा–ओलीबिच भएको त्यही सहमति नेपालको राजनीतिले नयाँ मोड लियो ।

अघिल्लो संसदका पहिलो र दोस्रो ठुला दलको नेतृत्वमा बनेको शक्तिशाली सरकारको गतिविधिबाट आम नागरिक सन्तुष्ट हुन सकेनन् । ओली सरकारले विपक्षी दलहरूसँग प्रतिशोध साध्ने तर सत्ता पक्षका नेताहरू जतिसुकै बदमासी गरे पनि कारबाही नहुने प्रवृत्ति हाबी हुँदै गयो । विपक्षी दल रास्वपाका सभापति रवि लामिछानेलाई सहकारी ठगी मुद्दामा पक्राउ गरियो । त्यतिमात्र नभई सङ्गठित अपराध, सम्पत्ति शुद्धीकरण सम्बन्धी अभियोजन गरी काठमाडौँ, कास्की, चितवन, रुपन्देही र पर्सा जिल्ला अदालतमा सरकारले मुद्दा हाल्यो ।

सरकारका गतिविधिबाट असन्तुष्ट रहेका आम नागरिक बिस्तारै गोलबन्द हुँदै गए । सडकको असन्तुष्टिसँगै एमाले र कांग्रेसभित्र पनि असन्तुष्टि बढ्दै गयो । २०८१ साल चैत १५ गते तीनकुनेमा राप्रपाले आयोजना गरेको कार्यक्रममा सरकारले हस्तक्षेप गर्दा दुई जनाको मृत्यु हुनुका साथै आक्रोशित भिडले आगजनीको प्रयास गरेको थियो । तर सुरक्षाकर्मीको सक्रियताले त्यतिबेल धेरे क्षति हुन पाएन । तीनकुने प्रकरण नै जनअसन्तुष्टिको सङ्केत थियो भन्ने हेक्का ओली सरकारले बेलैमा विश्लेषण गर्न सकेन । राजावादी आन्दोलन दमन गरेको खुसीयालीमा विपक्षी दलहरूमाथि सरकार झन् आक्रामक बन्दै गयो ।

सरकार विरुद्ध बिस्तारै आक्रोश बढ्दै जाँदा सरकारले २०८२ साल भदौमा सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगायो । बेथिति र भ्रष्टाचार विरुद्ध जेनजी युवाहरूले भदौ २३ गते नयाँ बानेश्वरमा शान्तिपूर्ण रूपमा गरेका आन्दोलनमाथि सरकारले चरम दमन गर्दा २३ जना युवाको हत्या भयो । आक्रोशित भिडले भोलिपल्ट देशको प्रशासनिक केन्द्र सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन, प्रधानमन्त्री निवास, राष्ट्रपति भवन, मन्त्री निवास लगायत देशभरका सरकार सम्पत्ति, राजनीतिक दलहरूको कार्यालय, निजी निवास, व्यापारी प्रतिष्ठानमा आगजनी गरे ।

प्रधानमन्त्री ओली प्रधानमन्त्री निवासबाटै हेलिकप्टेर चढेर भागेका थिए । मन्त्रीहरू, सांसद, पूर्वराष्ट्रपतिहरू, पूर्वप्रधानमन्त्रीहरू, राजनीति दलका शीर्ष नेताहरू सेनाको सहयोगमा सुरक्षित स्थानमा राखेको थियो । देउवा दम्पती बुढानीलकण्ठ निवासमै निर्घात कुटिए । ओली सरकार विघटन भएपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बन्यो । त्यही सरकारले संसद् विघटन गरी फागुन २१ गते निर्वाचन घोषणा गर्‍यो ।

निर्वाचनमा रास्वपा झन्डै दुई तिहाइ मत ल्याएर सरकार गठन गर्दा कांग्रेस, एमाले, नेकपा, मधेसी दलहरू बढारिए । जेनजी विद्रोह पछि गगन थापाले विशेष महाधिवेशन बोलाएर पार्टी कब्जा गरे । गगन थापाको नेतृत्वलाई निर्वाचन आयोग र सर्वोच्च अदालतले पनि मान्यता दियो । जीवनको उत्तराद्र्धमा पार्टी र राज्यसत्ता गुमाएका देउवा दम्पती सिंगापुर हुँदै अहिले हङकङ रहेको बुझिएको छ ।

ओली आफ्नै निर्वाचन क्षेत्र झापा–५ मा बालेन शाहसँग पराजित भए । रास्वपाको सरकार बनेको भोलिपल्टै ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ समेत परे । देउवा दम्पतीविरुद्ध पनि सम्पत्ति शुद्धीकरण विभागले छानबिन अगाडि बढाइराखेको छ ।