महेन्द्रनगरः सुदूरपश्चिम विश्वविद्यालयले सम्बन्धन प्राप्त निजी कलेजलाई शैक्षिक कार्यक्रम र विद्यार्थी संख्या (कोटा) थप दिने निर्णय गरेपछि विद्यार्थी आन्दोलनमा उत्रिएका छन्। आंगिक क्याम्पस बनाउने पूर्वनिर्णय लत्याउँदै निजी कलेजलाई नयाँ कार्यक्रमदेखि विद्यार्थी कोटा निर्धारण गरिएको भन्दै विद्यार्थी आक्रोशित बनेका हुन्।
केन्द्रीय क्याम्पससहित आंगिक र आंगिक बनाउने निर्णय भएका क्याम्पसहरू व्यवस्थापनविहीन र लथालिङ्ग अवस्थामा पुगेको आरोप विद्यार्थीको छ। यस्तो अवस्थामा विश्वविद्यालय पदाधिकारीले निजी क्याम्पसलाई प्राथमिकता दिँदै नयाँ शैक्षिक कार्यक्रम र विद्यार्थी कोटा थपेर सरकारी क्याम्पस धराशायी बनाउने खेलमा लागेको उनीहरूको भनाइ छ।
सिएसआइटी संकाय कमजोर बनाउने काम भएको आरोप लगाउँदै विद्यार्थीले बुधबार विज्ञान तथा प्रविधि संकायका डिन भवानी चन्दको कार्यकक्षमा तालाबन्दी गरेका छन्। केन्द्रीय क्याम्पसमा रहेको सिएसआइटी संकाय सुधार्नुपर्नेमा निजी कलेज पोस्ने काम भएको भन्दै डिन कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको हो।
गत २६ जेठ २०८३ मा विश्वविद्यालयले यसअघि सम्बन्धन प्राप्त कलेजलाई चालु शैक्षिक सत्रमा बीएस्सी, सिएसआइटी र बीबीए कार्यक्रमका लागि थप विद्यार्थी संख्या अनुमति दिने निर्णय गरेको थियो। यसअघि कञ्चनपुरकै भानु, महाकाली र बैजनाथ क्याम्पसलाई आंगिक बनाउने निर्णय बेवास्ता गर्दै निजी कलेजलाई प्राथमिकता दिएको भन्दै विश्वविद्यालय नेतृत्वको आलोचना भइरहेको छ।
हाल निजी कलेजमा थप विद्यार्थी संख्या कोटा निर्धारणका लागि भौतिक अवस्था अध्ययन गर्न विज्ञान तथा प्रविधि संकायका डिन भवानी चन्द र व्यवस्थापन संकायका डिन केशवराज भट्टको टोली खटाइएको छ। तर अध्ययन टोली फिल्डमै खटिएको समयमा विश्वविद्यालयभित्र विवाद थप चुलिएको छ।
विज्ञान तथा प्रविधि संकाय (सिएसआइटी) प्रमुख कर्णदेव भट्टले कार्यविधिविपरीत निजी कलेजलाई पोस्ने गरी कोटा थपमा आर्थिक चलखेल भएको आरोप सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा लगाउँदै आएका छन्।
यस विषयमा डिन भवानी चन्दले विश्वविद्यालयले दिएको जिम्मेवारीअनुसार आफू फिल्डमा खटिएको बताए। आफ्नै संकायका सहकर्मीलाई पटक–पटक आग्रह गर्दा पनि नआएपछि त्रिभुवन विश्वविद्यालयबाट विज्ञ लिएर स्थलगत अध्ययन गरिएको उनको भनाइ छ। ‘मलाई उपकुलपतिले आफूअनुकूल टोली बनाएर फिल्डमा जान निर्देशन दिनुभएको थियो, पोखरा, तुलसीपुर, नेपालगन्ज, चितवन र काठमाडौँका कलेजको अध्ययन गरेर फिल्डमा देखिएको तथ्यअनुसार प्रतिवेदन बुझाउँछु,’ उनले भने। निजी कलेज पोस्ने वा आर्थिक चलखेलको आरोप निराधार भएको उनको दाबी छ।
व्यवस्थापन संकायतर्फ डिन केशवराज भट्ट नेतृत्वको टोलीमा विज्ञ हरिशंकर पन्त र वीरेन्द्रप्रसाद भट्ट रहेका छन्। डिन भट्टले व्यवस्थापन संकायतर्फ दुई कलेजको मात्रै भौतिक अवस्था अध्ययन गरी प्रतिवेदन बुझाइने बताए। ‘माथिबाट कुनै दबाब छैन, फिल्डमा जे देखिन्छ, त्यही रिपोर्ट बुझाउँछु,’ उनले स्पष्ट पारे।
यसैबीच, सुदूरपश्चिम विश्वविद्यालयका निमित्त उपकुलपति यज्ञराज पाठकले विश्वविद्यालयको हित र आन्तरिक स्रोत वृद्धिका लागि निजी सम्बन्धन प्राप्त कलेजको मागअनुसार विद्यार्थी कोटा थप गर्ने निर्णय गरिएको बताए। ‘नयाँ कार्यक्रम दिएका छैनौँ, पहिलेदेखि सञ्चालनमा रहेका कलेजलाई विज्ञ टोलीको प्रतिवेदनका आधारमा मात्रै कोटा थप दिने हो,’ उनले भने।
निजी कलेजमा सेयर, आफन्तलाई जागिर दिलाएकोजस्ता आरोप निराधार भएको दाबी गर्दै उपकुलपति पाठकले विश्वविद्यालयको आम्दानी बढाउन यस्तो निर्णय गरिएको बताए। तर विश्वविद्यालय नेतृत्वका यस्ता नीतिगत निर्णयले दीर्घकालीन रूपमा संस्था कमजोर बनाउने हो कि भन्ने चिन्ता भने बढ्दै गएको छ।