काठमाडौँ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले विभिन्न निर्णयहरू गरेको छ।
बैठकका निर्णयहरूबारे जानकारी दिँदै सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले संयुक्त राष्ट्रसङ्घको समुद्रसम्बन्धी कानुनको महासन्धि अन्तर्गत ‘राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरको सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो उपयोग’ सम्बन्धी सम्झौतालाई अनुमोदनका लागि सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय भएको बताए।
बैठकले गृह मन्त्रालयको प्रस्तावमा नेपाल प्रहरीमा कार्यरत ८ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरूको सरुवा गर्ने निर्णय गरेको छ । यसैगरी पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धनकुटाका धर्मराज खड्कालाई नियुक्त गरिएको छ ।
भूमि व्यवस्था मन्त्रालयको प्रस्तावमा ‘कमैया श्रम निषेध गर्ने सम्बन्धी पहिलो संशोधन नियमावली २०८३’ र शिक्षा मन्त्रालयको प्रस्तावमा ‘शिक्षा दशौँ संशोधन नियमावली २०८३’ स्वीकृत गरिएको छ ।
यसैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सिफारिसमा गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा कैलालीका हिक्मतबहादुर रावल र सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा मोरङका देवराज ढुङ्गानालाई नियुक्त गर्ने निर्णय बैठकले गरेको छ ।
साथै, ‘राष्ट्रिय सदाचार नीति २०८३’ र ‘राष्ट्रिय विज्ञापन नीति २०८३’ लाई पनि मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।
पत्रकारहरूसँगको कुराकानीमा मन्त्री पोखरेलले मदिरा सेवनमा जरिवानाका विषयहरू हाललाई प्रस्तावित मात्र रहेको र सम्बन्धित मन्त्रालयले स्पष्ट पार्ने बताए। यसैगरी गृह मन्त्रीमाथिको छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्ने प्रक्रियामा रहेको र केही समयमै बाहिर आउने उनको भनाइ थियो । किसानहरूलाई मलको समस्या हुन नदिन सरकारले नीति तथा कार्यक्रम र बजेटमा सम्बोधन गरिसकेकाले यो क्रमशः समाधान हुँदै जाने उनले विश्वास दिलाए।