काठमाडौँः नेपाल रेडक्रस सोसाइटी (नेरेसो) ले कुनै पनि तहका समिति, आयोग तथा उपसमितिका पदाधिकारी र सदस्यहरू राजनीतिक दल वा त्यसका भ्रातृ सङ्गठनका निकायमा पदमा बहाल रहेको भए रेडक्रसमा रहेको आफ्नो संलग्नताबाट अलग हुन अनुरोध गरेको छ।नेरेसोले स्वयंसेवक तथा कर्मचारीले रेडक्रसका सिद्धान्त, मूल्य र मान्यताअनुसार कार्य र व्यवहार गरेको सुनिश्चित गर्न नेपाल रेडक्रस सोसाइटीको विधान २०२० (अठारौँ संशोधन २०८२ सहित) को दफा ७२ उपदफा ३ को व्यवस्था स्मरण गराएको छ। उक्त व्यवस्थाअनुसार सक्रिय राजनीतिमा संलग्न भई राजनीतिक दल वा भ्रातृ सङ्गठनका विभिन्न निकायमा रहेका, तथा राजनीतिक दलबाट सबै तहका शासकीय संरचनामा पदाधिकारी वा सदस्य रहेका व्यक्ति नेपाल रेडक्रस सोसाइटीका कुनै पनि तहका समिति, आयोग र उपसमितिमा पदाधिकारी वा सदस्य रहन नपाउने व्यवस्था छ।
सोसाइटीले जारी गरेको अनुरोधमा विधानको व्यवस्था नमान्दै दोहोरो भूमिकामा रहेको पाइएमा मौजुदा विधानबमोजिम कारबाही हुने उल्लेख गरिएको छ।
अनुरोधमा थप भनिएको छ, ‘नेपाल रेडक्रसका कुनै पनि तहका समितिका पदाधिकारी वा सदस्य कुनै राजनीतिक दल (भ्रातृ सङ्गठनसमेत) का विभिन्न निकायमा रहेको जानकारी भएमा तथ्यसहित इमेल secretariat@nrcs.org मा जानकारी गराइदिन सम्बन्धित सबैमा अनुरोध गर्दछौँ।’
नेरेसो विश्व रेडक्रस अभियानको अभिन्न अङ्गका रूपमा रेडक्रसका सात सिद्धान्त, मूल्य र मान्यतामा आधारित तटस्थ तथा निष्पक्ष ढङ्गले काम गर्ने देशकै ठूलो मानवीय संस्था हो। तर नेपाल रेडक्रस सोसाइटीमा राजनीतिक दलको प्रभाव र संलग्नताका कारण समस्या जटिल बन्दै गएको भन्दै बेला–बखत सरोकारवालाबाट आलोचना हुँदै आएको छ। साथै रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घका वैधानिक निकायबाट प्रतिबन्धसमेत लगिन सक्ने अवस्था रहेको कुरा पनि अनुरोधमा उल्लेख गरिएको छ।