सोमवार, साउन ११, २०८३

प्रधानमन्त्री बालेनप्रति आङ्देम्बेको कटाक्ष: ‘अब भाइरल हुने राजनीति त्याग्नुस्’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सामाजिक सञ्जालमा भाइरल हुन सजिलो रहेको तर देशको प्रधानमन्त्रीका रूपमा गहन र गम्भीर कार्य गर्न गाह्रो रहेको बताएका छन् । सोमबारको प्रतिनिधिसभाको बैठकमा समय लिएर सम्बोधन गरेका उनले प्रधानमन्त्री वालेन्द्र शाह बालेनलाई भाइरल हुने बाटो त्याग्न आग्रह गरे ।

‘सामाजिक सञ्जालमा भाइरल हुन सजिलो छ, तर देशको प्रधानमन्त्रीका रूपमा गहन र गम्भीर कार्य गर्न गाह्रो छ । त्यसैले प्रधानमन्त्रीज्यू तपाईंले अब भाइरल हुने बाटो अब त्याग्नुपर्छ । तपाईं देशको प्रधानमन्त्री भइसक्नुभयो । सही ढंगले एक्सप्रेस वेमा ड्राइभ गर्नुहोस्, दुर्घटनामा पर्दा तपाईं मात्र होइन सिंगो देश दुर्घटनामा पर्न सक्छ,’ उनले भने ।

आङ्देम्बेले प्रधानमन्त्री शाहलाई संसदप्रति उत्तरदायी हुन आग्रह गरे । ‘संसद सार्वभौम जनताको प्रतिनिधि संस्था हो, त्यही संस्थाको सदस्य प्रधानमन्त्रीजी हुनुहुन्छ । उहाँको सरकार यही संसदको विश्वासमा टिकेको हो, त्यसैले प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्छ,’ उनले भने, ‘बितेका १०० दिनमा प्रधानमन्त्रीजीको कार्यशैली हेरेपछि म प्रधानमन्त्रीजीलाई स्मरण गराउँछु । धुरीमा चढेपछि सिँढी भुल्न हुँदैन । तपाईं सत्ताको धुरी चढ्ने अनि तपाईंलाई धुरीमा पुर्‍याउने संसद बिर्सने, संसदलाई अवमूल्ययन गर्ने ?’

उनले प्रधानमन्त्रीको प्राथमिकतामा संसद नपर्ने हो भने संसदीय लोकतन्त्र कसरी बलियो हुन्छ भनेर प्रश्न पनि गरे । ‘संसदमा उपस्थित हुनुभन्दा सामाजिक सञ्जालमा सन्देश लेख्नुलाई बढी प्रभावकारी ठान्नुहुन्छ भने जनताको सर्वोच्च प्रतिनिधिमूलक संस्थाको गरिमा कसरी कायम रहन्छ?,’ प्रधानमन्त्रीलाई लक्ष्य गर्दै उनको प्रश्न छ, ‘लोकतन्त्रमा लोकप्रिय हुनु र उत्तरदायी हुनु एकै कुरा होइन ।’