मङ्लबार, साउन १२, २०८३

लोकदोहोरीमा चम्किइन् निशा, जितिन् सुदूरपश्चिम तारा–२०८३

धनगढी । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सुदूरपश्चिम प्रदेश कार्यसमितिको आयोजनामा तथा प्रतिष्ठान कैलाली र कञ्चनपुर शाखाको सह–आयोजनामा आयोजित ‘प्रथम सुदूरपश्चिम लोकदोहोरी तारा–२०८३’ भव्य रूपमा सम्पन्न भएको छ।

धनगढीस्थित इन्द्रेणी दोहोरी साँझमा सम्पन्न प्रतियोगितामा उत्कृष्ट प्रतिभालाई पछि पार्दै निशा सन्ज्याल प्रथम भई ‘सुदूरपश्चिम लोकदोहोरी तारा–२०८३’ को उपाधि जित्न सफल भइन्।

प्रतियोगितामा जेनिशा नेपाली द्वितीय तथा टिका साउद तृतीय स्थान हासिल गर्न सफल भए। त्यसैगरी झुमा क्षेत्री ले सान्त्वना पुरस्कार प्राप्त गरिन्।

विधागत उत्कृष्टतर्फ पदम बि.सी. उत्कृष्ट गायक तथा दिपा बम उत्कृष्ट गायिकाको रूपमा सम्मानित भए।

सुदूरपश्चिम प्रदेशभरिका लोकदोहोरी प्रतिभालाई एउटै मञ्चमा ल्याई उनीहरूको कला, संस्कृति र गायन क्षमताको प्रवर्द्धन गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको आयोजक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सुदूरपश्चिम प्रदेश कार्यसमितिले जनाएको छ।

कार्यक्रमको सह–आयोजनामा प्रतिष्ठानका कैलाली र कञ्चनपुर शाखा रहेका थिए भने इन्द्रेणी दोहोरी साँझ मुख्य प्रायोजकका रूपमा रहेको थियो।

प्रतियोगिताले सुदूरपश्चिममा लुकेर रहेका लोकदोहोरी प्रतिभाको पहिचान, संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास आयोजकले व्यक्त गरेको छ।