सोमवार, साउन ११, २०८३

सीमाको अवस्था बुझ्न उत्तरतिर गृहमन्त्रीको यात्रा

काठमाडौं । केही समय पहिला दक्षिण सीमा (मध्य तराईका नेपाल–भारत सीमा) को अनुगमन, निरीक्षण गरेका गृहमन्त्री सुधन गुरुङ अहिले भने उत्तरी सीमातर्फ निस्केका छन् ।

शनिबार साँझदेखि भोटेकोशीमा बेपत्ता भएको विद्युतीय ईभी भ्यानका चालकको खोजीकार्य तीव्र पार्न र खोजीमा खटिएका सुरक्षाकर्मीको हौसला प्रदान गर्न भन्दै उनी रसुवा गएका थिए । यही मेसोमा उनले रसुवा भन्सारको पनि अनुगमन गरेका छन् ।

यसक्रममा गृहमन्त्री गुरुङले आठ वर्षदेखि निर्माणाधीन रसुवागढीस्थित एकीकृत भन्सार कार्यालय भवनको निर्माण कार्य तत्काल तीव्र गतिमा अघि बनाएर सम्पन्न गर्न निर्देशन दिएका थिए ।

रसुवागढी क्षेत्रको निरीक्षणपछि गृहमन्त्री गुरुङले सीमा क्षेत्रमा खटिएका भन्सार कर्मचारी र सुरक्षाकर्मीलाई सुरक्षा व्यवस्था थप मजबुत बनाउन निर्देशन दिएका थिए । त्यस्तै, सेवा प्रवाहलाई प्रभावकारी र छिटोछरितो मन्त्री गुरुङले निर्देशन दिए ।

गाडी खोजी कार्यमा खटिएका सुरक्षाकर्मीलाई प्रोत्साहन गर्न रसुवा गएको बताइए पनि त्यहाँ उनले केही समयमात्र बिताए । लगत्तै उनी सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीदेखि भन्सारका कर्मचारीलाई निर्देशन गर्न पुगेका थिए ।

अहिले गृहमन्त्री गुरुङ काठमाडौं फर्किसकेका छन् । काठमाडौं फर्किएर उनले सुनसरी घटनाका बारेमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका आईजीपीसँग छलफल गरेका छन् । उक्त घटना छानबिन गर्न सहसचिवको नेतृत्वमा समिति समेत गठन भएको छ ।

आजै साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बोलाइएको छ ।