काठमाडौं : काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी बल नेपाल अस्पतालमा विभिन्न अनियमितता भएको उजुरी परेपछि सशस्त्र प्रहरी मुख्यालयले एसएसपी गंगाराम श्रेष्ठको नेतृत्वमा छानबिन समिति गठन गरी अनुसन्धान अघि बढाएको छ।
आईजीपी नारायणदत्त पौडेलको निर्देशनमा सशस्त्र प्रहरी मुख्यालयले गठन गरेको समितिले अस्पतालमा पुगेर नियमित रूपमा सोधपुछ तथा छानबिन गरिरहेको स्रोतले जनाएको छ।
कीर्तिपुरस्थित नेपाल एपीएफ स्कुलमा भएको भनिएको आर्थिक अनियमितताको घटनापछि अस्पतालसम्बन्धी उजुरीलाई समेत सशस्त्र प्रहरी नेतृत्वले गम्भीर रूपमा लिँदै तत्काल छानबिन समिति गठन गरेको बताइएको छ।
स्रोतका अनुसार अस्पतालमा भएको भनिएको अनियमिततामा अस्पताल प्रमुख डीआईजी डा. रूपक महर्जन र लेखा शाखा प्रमुख गणेशबहादुर मल्ललगायतको संलग्नताबारे समेत छानबिन भइरहेको छ। लामो समयदेखि अस्पतालको नेतृत्वमा रहेका डा. महर्जनमाथि अस्पतालमा भएको भनिएको अनियमितता समयमै रोक्न पहल नगरेको आरोपसमेत लागेको छ।
गत चैतको पहिलो साता डीआईजीको एक वर्ष कार्यकाल थप भएका महर्जनमाथि छानबिनको विषय गम्भीर बन्न सक्ने स्रोतको दाबी छ। अस्पतालमा एआईजीको दरबन्दी कायम नभए आगामी चैत ५ गते उनी डीआईजी पदबाट अनिवार्य अवकाशमा जानेछन्।
स्रोतका अनुसार सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले कुनै पनि प्रभावमा नपरी अस्पतालको वास्तविकता पत्ता लगाउन छानबिन समितिलाई निर्देशन दिएका छन्। उजुरी आएपछि त्यसको जरोसम्म पुगेर दोषी देखिए कारबाही गर्ने र संस्थागत सुधारलाई अघि बढाउने नीति महानिरीक्षक पौडेलले लिएको बताइएको छ।
अस्पतालमा भर्ना भएका बिरामीका लागि उपलब्ध गराइने रासनमा व्यापक अनियमितता भएको भन्दै मुख्यालयमा उजुरी परेको जनाइएको छ। त्यस्तै, सशस्त्र प्रहरी बल नेपाल कल्याणकारी सेवा केन्द्रको समन्वयमा अस्पताल परिसरमा सञ्चालित सशुल्क फार्मेसीले औषधिमा दिनुपर्ने छुट नदिएको, बहालवाला तथा पूर्वसशस्त्र प्रहरी कर्मचारीका लागि सञ्चालन गरिएको सुपथ मूल्य पसलमा समेत कैफियत रहेको र पूर्वसशस्त्र प्रहरीका एसपीले सञ्चालन गर्दै आएको क्यान्टिनमा खानेकुराको मूल्य अत्यधिक महँगो भएको भन्दै उजुरी परेको स्रोतको भनाइ छ।
यसैगरी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालसँग २०८० कात्तिक २४ गते नेपाल एपीएफ अस्पताल र नाम्सबीच चिकित्सा शिक्षासम्बन्धी शैक्षिक तथा प्राज्ञिक कार्यक्रम सञ्चालनका लागि भएको सम्झौताअनुसार नर्सिङतर्फ करार नियुक्ति गर्दा विज्ञापन नगरी निकट व्यक्तिहरूलाई नियुक्ति दिएको विषयमा समेत उजुरी परेको जनाइएको छ। यस वर्षदेखि अस्पतालमा नर्सिङ कक्षा सञ्चालनमा आएको छ।
सशस्त्र प्रहरी बल नेपालको उक्त अस्पताल केही वर्षयता तीन सय शय्यामा विस्तार गरिएको छ। बहालवाला तथा पूर्वसशस्त्र प्रहरी कर्मचारी, उनीहरूका परिवार र सर्वसाधारण नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालको क्षमता विस्तार गरिएको हो। तर, दैनिक रूपमा तीन सय बिरामी भर्ना नहुँदा पनि तीन सय शय्याका लागि आवश्यक पर्ने रासनबराबरको रकम असुल गरिएको भन्दै उजुरी परेको स्रोतले जनाएको छ।
छानबिन समितिले अस्पतालमा उठेका सबै उजुरीको वास्तविकता पत्ता लगाउने र अनियमितता पुष्टि भएमा संलग्नमाथि आवश्यक कारबाहीका लागि सिफारिस गर्ने बताइएको छ।