धनगढी : धनगढीमा अनसनरत डा. गोविन्द केसी र सरकारी प्रतिनिधिबीच सहमतिको अन्तिम मस्यौदा तयार भएको छ।
सबैभन्दा पेचिलो बनेको शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिको विषयमा मध्यमार्गी निकाससहित दुवै पक्षबीच सहमति जुटेको हो।
दुवै पक्षले आठ बुँदे सहमतिको मस्यौदा तयार गरी वार्ता स्थलबाट बाहिरिएका छन्। स्रोतका अनुसार उक्त मस्यौदा अन्तिम स्वीकृतिका लागि प्रधानमन्त्री कार्यालय पठाइएको छ।
प्रधानमन्त्री कार्यालयले मस्यौदालाई अन्तिम रूप दिएपछि दुवै पक्षले औपचारिक रूपमा हस्ताक्षर गर्ने तयारी छ। सहमतिको मस्यौदाअनुसार शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिष्ट्रार डा. भीमबहादुर चन्दलाई प्रक्रिया पूरा गरी पदबाट हटाउने र उपकुलपति डा. सुनिलकुमार जोशीलाई तत्काल यथावत् राख्ने सहमति भएको स्रोतले जनाएको छ।
त्यस्तै, गेटामा चालु आर्थिक वर्षभित्रै तीन सय शय्याको अस्पताल सञ्चालनमा ल्याउने र एमबीबीएसको पढाइ अघि बढाउने विषयमा पनि सहमति जुटेको बताइएको छ।
निजी मेडिकल कलेजको कोटा तत्काल नबढाउने विषयमा समेत सहमति भएको स्रोतको भनाइ छ। यद्यपि, यो सहमति अहिलेसम्म अन्तिम भने भएको छैन। प्रधानमन्त्री कार्यालयले मस्यौदालाई अन्तिम रूप दिएपछि मात्रै सहमति औपचारिक रूपमा मान्य हुने जनाइएको छ।
डा. केसीले उठाएका अन्य माग सम्बोधन गर्ने विषयमा पनि सहमति भएको बताइएको छ। प्रधानमन्त्री कार्यालयबाट सहमतिको मस्यौदाले अन्तिम रूप पाएपछि मात्रै त्यसलाई सार्वजनिक गर्ने र डा. केसीको अनसन तोडाउने तयारी गरिएको स्रोतले जनाएको छ।