काठमाडौं- प्रदर्शनको तयारीमा रहेको नेपाली फिल्म ‘पार्वती’ को निर्माण टिमले बाल कलाकार अशोक दर्जीसँग सम्बन्धित सार्वजनिक भिडियोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
टिमले भिडियोले आफूहरूलाई दुःखी र विचलित बनाएको उल्लेख गर्दै घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेको छ । फिल्म टिमले सामाजिक सञ्जालमार्फत जारी गरेको वक्तव्यमा भिडियोमा देखिएको घटना लेनदेनसँग सम्बन्धित विषय हुन सक्ने देखिए पनि वास्तविकता अझै स्पष्ट नभएको जनाएको छ ।
कसैको गल्ती भए पनि कानुनी प्रक्रिया र मानवीय मर्यादाभन्दा बाहिर गएर गालीगलौज, कुटपिट तथा सार्वजनिक रूपमा अपमानित गर्नु स्वीकार्य नहुने टिमको भनाइ छ । वक्तव्यमा उक्त घटना अहिलेको नभई धेरै समयअघिको भएको दाबी गर्दै, यदि विषय गम्भीर थियो भने त्यसबेलै सार्वजनिक हुनुपर्ने उल्लेख गरिएको छ ।
अहिले अशोक दर्जीले आफ्नो प्रतिभा र मेहनतका कारण चर्चा बटुलिरहेका बेला पुरानो भिडियो सार्वजनिक गरेर उनको चरित्रमाथि प्रहार गर्ने प्रयास भएको आशंका पनि टिमले व्यक्त गरेको छ । यस विषयमा अशोक दर्जीले सम्बन्धित निकायमा दिएको निवेदनसमेत सार्वजनिक गरिएको जनाउँदै घटनालाई एकपक्षीय रूपमा नभई तथ्य र आधिकारिक कागजातका आधारमा मूल्यांकन गर्न आग्रह गरिएको छ ।
फिल्म टिमले अशोक दर्जी सामान्य परिवारबाट संघर्ष गर्दै कलाकारिता क्षेत्रमा अघि बढिरहेका प्रतिभाशाली कलाकार भएको उल्लेख गर्दै उनलाई न्याय, साथ र सहयोग आवश्यक रहेको जनाएको छ ।