धनगढी : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता खजराज भट्ट सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बन्ने भएका छन्। नेकपाले प्रदेश सभा संसदीय दलका नेता भट्टलाई मुख्यमन्त्री बनाउने तयारी गरेको हो।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार भएको तीनबुँदे समझदारीमा कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपाले गर्ने उल्लेख छ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सरकार गठनका लागि २६ सांसदको समर्थन आवश्यक पर्छ। नेकपाका २१ र एमालेका ११ सांसद रहेका कारण दुवै दल सुविधाजनक बहुमतमा छन्।
यसैबीच, नेता भट्ट प्रदेश सरकार गठनबारे शीर्ष नेतृत्वसँग परामर्श गर्न काठमाडौं पुगेका छन्। उनले सोमबार धनगढी फर्किएलगत्तै सरकार गठनको गृहकार्य अघि बढाउने बताएका छन्।
‘मन्त्रालय बाँडफाँटलगायतका विषयमा छलफल गर्न काठमाडौं आएको छु,’ भट्टले भने, ‘सोमबार धनगढी फर्किएपछि सरकार गठनको प्रक्रिया अगाडि बढाउँछु।’