सोमवार, साउन ११, २०८३

‘दीपक बोहरा दोषी होइनन्’ भन्दै सर्वोच्चमा आयोगको जवाफ

राष्ट्रिय मानव अधिकार आयोगले रास्वपा सांसद दीपक बोहरालाई कुनै पनि विषयमा दोषी वा कसुरदार ठहर नगरेको बताएको छ। आयोगले जेन-जी आन्दोलनसम्बन्धी प्रतिवेदनमा नाम उल्लेख गरेपछि बोहराले दायर गरेको रिटमा आयोगले  यस्तो जवाफ दिएको हो।

आयोगले जेन-जी प्रदर्शनपूर्व, प्रदर्शनको दौरान र प्रदर्शनपश्चात् केही व्यक्तिहरूले दिएको अभिव्यक्तिबाट प्रदर्शनकारीहरू उत्तेजित भएको भन्ने सूचनाका आधारमा बोहरालाई अनुसन्धानका लागि सिफारिस मात्र गरेको बताएको हो।

आयोगले जवाफमा भनेको छ, ‘बोहरालाई कुनै पनि विषयमा दोषी वा कसुरदार ठहर गरेको छैन। निजको मर्यादामा आँच पुर्‍याउने यस आयोगको उद्देश्य पनि होइन। अतः यस आयोगको कुनै काम कारबाहीबाट निजलाई दोषी ठहर नगरिएको, निजको स्वच्छ सुनवाइको हक अधिकारको सुनिश्चितता गरी छानबिन गर भनेको हो।’

प्राकृतिक न्यायको सिद्धान्तअनुसार बोहराले सम्बन्धित अनुसन्धान गर्ने अधिकारी वा निकायसमक्ष आफ्नो भनाइ राखे बाटो खुला नै रहेको अवस्थामा संविधानप्रदत्त उनको कुनै पनि हकको हनन् नभएको उल्लेख गर्दै आयोगले बोहराले दायर गरेको रिट निवेदन खारेज गर्न माग गरेको छ।