चितवनको इच्छाकामना गाउँपालिका– ६, जलबिरेनजिक मुग्लिङ–नारायणगढ सडकखण्डमा आइतबार बिहान भएको सवारी दुर्घटनामा ३३ जना घाइते भएका छन्। घाइतेहरूको उद्धार गरी भरतपुरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घाइतेमध्ये २४ जनाको नयाँ मेडिकल कलेज भरतपुर र नाैजनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार आइतबार बिहान करिब ७:१० बजे काठमाडौंबाट दाङतर्फ जाँदै गरेको लु.प्र.०३–००१ ख ०५०५ नम्बरको बस, सर्लाहीबाट काठमाडौं आउँदै गरेको म.प्र.०३–००२ ख ७३२ नम्बरको बस र सोही दिशाबाट पछाडि आउँदै गरेको बा.प्र.०३–००१ ख १६७१ नम्बरको ट्रक एक–आपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा तीनवटै सवारीसाधनमा क्षति पुगेको छ। दुर्घटनापछि केही समय दुवैतर्फ अवरुद्ध भएको मुग्लिङ–नारायणगढ सडकखण्ड हाल सञ्चालनमा आइसकेको प्रहरीले जनाएको छ।