धनगढी। चलचित्र तथा चलचित्रकर्मीहरूको हक, हित, संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले सुदूरपश्चिमका चलचित्रकर्मीहरू एकीकृत हुँदै सुदूरपश्चिम चलचित्रकर्मी संघ गठन गरेका छन्।
वरिष्ठ चलचित्रकर्मी राजकुमार जोशीको अध्यक्षता तथा वरिष्ठ चलचित्रकर्मी खडकबहादुर मल्लको विशेष उपस्थितिमा सम्पन्न भेलाले सरस्वती खड्का भट्टको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।
नवगठित कार्यसमितिको उपाध्यक्षमा वीरेन्द्र सिंह ‘बिरु’, महासचिवमा सुरेन्द्र संगम, सचिवमा विनोद बोहरा तथा कोषाध्यक्षमा जयन्ती पाण्डेय चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा रोबर्टसिंह बडैला, संगत थारू चौधरी, प्रदीप चनारा, सतीस सिन्हा, माया खड्का र ज्ञानेन्द्र कुँवर रहेका छन्।
भेलाले प्रदेशमा चलचित्र क्षेत्रका समस्या पहिचान गरी समाधानका लागि प्रभावकारी पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै वरिष्ठ चलचित्रकर्मी राजकुमार जोशीको संयोजकत्वमा तथा खडकबहादुर मल्ल सदस्य रहेको सल्लाहकार समिति समेत गठन गरेको छ।
यस अवसरमा नव-निर्वाचित अध्यक्ष सरस्वती खड्का भट्टसहित सम्पूर्ण पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।